
दलबहादुर सुनार/बढैयाताल (बर्दिया) । १५ जेठ बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा पालिका स्तरीय अभिभावक तथा समुदाय संलग्नता सम्बन्धी प्रधानाध्यापकलाई अभिमुखीकरण गरिएको छ ।
बाँके युनेस्को क्लबको शसक्त बिलका परियेजनाको आयोजना र बढैयाताल गाउँपालिकाको समन्वयमा आयोजित उक्त कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई अभिभावक र समुदायसँग प्रभावकारी समन्वय गर्ने सीप र दृष्टिकोण सम्बन्धी तालिम प्रदान गरिएको हो । कार्यक्रममा समुदायसँगको सहकार्य, उत्तरदायित्व र सकारात्मक दृष्टिकोण विकास गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक सीप र ज्ञान प्रदान गरिएको थियो । सामुदायिक विद्यालयका अभिभावक तथा समुदायको सक्रिय सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित अभिमुखीकरण सञ्चालन गरिएको आयोजकले जनाएको छ । कार्यक्रमका प्रशिक्षक तथा ने.रा. मा.वि. लक्ष्मणपुर, बाँसगढीका प्रधानाध्यापक अर्जुन तिवारीले सफलताका कथा र उदाहरणमार्फत सहजीकरण गर्दै पछिल्लो समयमा सामुदायिक विद्यालय र अभिभावकबीच दूरी बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयाे।

विद्यालय, विद्यालय व्यवस्थापन समिति र अभिभावकबीच समन्वय तथा सहकार्यलाई मजबुत बनाउँदै मात्र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सम्भव हुनेमा उनले जोड दिए। “अब सामुदायिक विद्यालयले प्रत्येक दिन कम्तीमा पाँच जना अभिभावकसँग एक घण्टा संवाद गर्ने अभियान सञ्चालन गर्नु आवश्यक रहेको प्रशिक्षक तिवारीले सुझाव दिनु भयो । पशुपति प्राथमिक विद्यालय, पशुपतिबजारका प्रधानाध्यापक होमकृष्ण न्यौपानेले शिक्षण पेशामा विभिन्न आरोह–अवरोह भोग्नुपरेको अनुभव सुनाउँदै परीक्षा परिणामको कारण आलोचनाको केन्द्र बन्नुपरेको उल्लेख गरे। उहाँले शिक्षा सुधारका लागि समुदाय, अभिभावक र सरोकारवाला सबैको जिम्मेवारी आवश्यक रहेको बताउनु भयो । जागृति प्राथमिक विद्यालय, फुटाहाका प्रधानाध्यापक उत्तरकुमार श्रेष्ठले सबै अभिभावक एउटै व्यवहार र सोच भएका नहुने हुँदा उनीहरूको विशेषता पहिचान गरी व्यवहारिक रूपमा सकारात्मक दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिनु भयो ।
बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको अध्यक्षतामा सुनगाभा होटल, मैनापोखरीमा सम्पन्न कार्यक्रममध्ये माध्यमिक, आधारभूत र प्राथमिक तहका ३० जना प्रधानाध्यापक तथा सहायक प्रधानाध्यकहरूको सहभागिता रहेको बाके युनेस्को क्लबका फिल्ड सुपरभाइजर रामबहादुर थारूले जानकारी दिनु भयाे ।


