
कृष्णसार अनलाइन । माइती नेपालले बर्दियाको गुलरिया नगरपालिका, ८ मा रहेको महाकवि देवकोटा माध्यमिक विद्यालयमा विद्यालय स्तरीय सचेतनामूलक कार्यक्रम गरेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत माइती नेपालले बर्दियाको गुलरिया नगरपालिका, ८ मा रहेको महाकवि देवकोटा माध्यमिक विद्यालयमा विद्यालय स्तरीय सचेतनामूलक कार्यक्रम गरेको हो ।


बिहीबार माइती नेपालको आयोजनामा तथा गुलरिया नगरपालिकाको समन्वयमा विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरूको सहभागितामा सचेतना मूलक कार्यक्रम गरिएको थियो ।
नगरपालिकाका उपप्रमुख सावित्रा गौतमले लैङ्गिक हिंसा रोक्न परिवार र परिवारका सदस्यदेखि लिएर समाजका सबै पक्षहरू जिम्मेवार र सक्रिय हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउने क्षमता विकास गर्नुका साथै सुरक्षित र हिंसा मुक्त समाज निर्माणमा सहयोग पुर्याउने मदत गर्छ ।’
माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले माइती नेपालले विगतदेखि मानवबेचबिखन विरुद्धका विभिन्न गतिविधि तथा कार्यक्रम गर्दै आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ बर्दियामा पछिल्लो सयम मानव बेचबिखन तथा ओसारपसार घटनामा कमी आउँदै गएको छ । तर महिला माथि हुने अन्य हिंसाका घटनामा भने कमी आउन सकेको छैन् । त्यसलाई रोक्न पनि समुदायलाई सचेत बनाउन जरुरी रहेको छ । त्यसका लागि सरोकारवाला सबै निकायहरूले एकआपसका हातेमालो गरेर काम गरी महिला माथि हुने रोक्न भूमिका खेल्नुपर्छ ।’
सचेतना मूलक कार्यक्रममा विद्यार्थीहरूलाई लैङ्गिक हिंसाका स्वरूप, त्यसका सामाजिक असर तथा हिंसा विरुद्ध आवाज उठाउनुपर्ने बारेमा जानकारी गराइएको थियो । यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता, पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नारा सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलाएको छ ।



