
कृष्णसार अनलाइन । दाङको राप्ती गाउँपालिकामा १७ जना क्षयरोगका बिरामी फेला परेको पाइएको छ । पालिकाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा १७ जना क्षयरोगमा बिरामी फेला परेको पाइएको हो ।
पालिकाको वडा नम्बर ३ मसुरिया सामुदायिक स्वास्थ्य इकाई, वडा नम्बर ६ को पत्थर गढवा सामुदायिक स्वास्थ्य इकाई र वडा नम्बर ८ को पिपरीमा जेठ १४ गतेदेखि १६ गतेसम्म शिविर सञ्चालन गरिएको हो । शिविरमा ६ सय २६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परिक्षण गरिएका मध्ये १७ जनामा क्षयरोग भएको र १ सय ४९ जनामा क्षयरोगको उच्च सम्भावना देखिएकाले खकार सङ्कलन गरि जिन एक्सपर्ट परीक्षणका लागि लमही अस्पतालमा पठाइएको बर्दिया अस्पतालका डाक्टर राजेन्द्र बसौला बताउनु भयो ।

शिविरमा स्वास्थ्य परीक्षण गराउन आएका मध्येमा धेरैमा फोक्सो सम्बन्धी समस्या देखिएको’ डाक्टर बसौलाले बताउनु भयो । उहाँले परीक्षण गर्नका लागि एआई प्रविधियुक्त डिजिटल एक्सरे मेसिनको प्रयोग गरिएको समेत जानकारी दिनु भयो ।
राप्ती गाउँपालिकाको आयोजना र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालय दाङको प्राविधिक सहयोगमा क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत उक्त शिविर सञ्चालन गरिएको थियो । शिविरमा भीम अस्पताल भैरहवाका एक्सरे टेक्निसियन राजेश राय, क्षयरोग मुक्त अभियान नेपालका राप्ती गाउँपालिका संयोजक प्रतिमा विष्ट, नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाका सभापति उत्तम कुमार अधिकारी लगायतको सहभागितामा स्वास्थ्य शिविर गरिएको थियो । स्वास्थ्य सेवाको पहुँचबाट बाहिर रहेका, क्षयरोगको उच्च जोखिममा रहेका तथा सम्भावित बिरामीहरूको पहिचान गर्न स्वास्थ्य परीक्षण र प्रारम्भिक उपचारका लागि शिविर सञ्चालन राप्ती गाउँपालिकाले जनाएको छ ।


