
प्रकाश पौडेल, गुलरिया । विद्यालय भन्ने बितीकै तपाईँको दिमागमा के आउँछ ? कक्षाकोठा, विद्यार्थी, शिक्षक र शैक्षिक वातावरण भएको स्थान, जहाँ विद्यार्थीहरू पाठ्यपुस्तकमा भएका विषयवस्तु पढ्न आउँछन् । धेरैको दिमागमा आउँने दृष्य यहीँ हो ।
त्यसको विपरित त्रिभुवन माध्यामिक विद्यालयमा जेठ १६ गतेको दृष्य भने फरक थियो । त्यहाँ थिए नेपाली सेना, ७० जना जति विद्यार्थी दुई संरक्षण कर्मी युवा । कक्षाकोठामा रहेको डिजिटल बोर्डमा देखिएको थियो ‘नेपालीमा पाइने विषालु सर्प’ ।

त्यस दिनको मुख्य विषयवस्तु पनि त्यहीँ थियो । मानव र सर्पको बीचमा हुने द्वन्द्वका कारण कयौँ मानिसको ज्यान गएको छ । मानवका कारण पनि धेरै सर्पको मृत्यु भएको छ । जिल्ला विपत व्यवस्थापन समितिको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७७÷०८८ देखि हालसम्म सर्पदंश कारण ९ जनाको मृत्यु भएको छ । तर मानवका कारण कति सर्पको मृत्यु भएको छ भन्ने आधिकारिक तथ्याङ्क छैन् ।
पृथ्वी सबैको साझा घर हो, यहाँ पाइने हरेक वनस्पति, थलचर, चराचुरुङ्गी वन्यजन्तुको समान बाँच्न पाउने अधिकार छ । तर मानवीय गतिविधिका कारण प्राकृतिक बासस्थान विनाश भएर कयौँ जीवजनावरको अस्तित्व सङ्कटमा समेत रहेको छ । प्रकृतिमा पाइने जीवजनावरको संरक्षण गर्दै मानव वन्यजन्तु सहअस्तित्व कायम गर्नका लागि चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान काम गर्दै आएको छ ।
युवा परिचालन अभियानले सञ्चालन गर्ने अभियानमा जबरजंग गण बर्दिया राष्ट्रिय निकुञ्जले पनि साथ दिर्दै आएको छ । मानव वन्यजन्तु सहअस्तित्व कायम गर्न विद्यालयमा मानव सर्प द्वन्द्व न्यूनिकरणका लागि सचेतना मूलक कार्यक्रम गरिएको नेपाली सेनाले ह. कृष्ण न्यौपानेले जानकारी दिनुभयो । उहाँले नेपाली पाइने विषालु सर्पका बारेमा विद्यार्थीलाई चिनाउनु साथै घरवरिपरि सर्प देखा परेमा कसरी सुरक्षित रहने सो बारेमा समेत विद्यार्थीलाई जानकारी दिनु भएको थियो ।
सचेतना मूलक कक्षामा सहभागी भएका विद्यार्थीहरूले पनि सर्पले टोकेमा के गर्ने ? सर्प देखा परेका कसलाई जानकारी गराउने ? सर्प पर्यावरणका लागि किन महत्वपूर्ण छ ? विद्यार्थीले यस्ता अनेक प्रश्न नेपाली सेनासँग गरिरहेका थिए । भने नेपाली सेनाका ह. न्यौपाने पनि अनेक उदाहरणहरू दिएर विद्यार्थीका जिज्ञासाको जवाफ दिइरहनु भएको थियो । यसरी नेपाली सेनाले विद्यार्थीलाई सर्पको बारेमा बुझाइरहेको , विद्यार्थीहरूले जिज्ञासु भएर पढिरहेका थिए ।
चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान, जबरजंग गण बर्दिया राष्ट्रिय निकुञ्जले नेपालमा पाइने विषालु सर्प बारेमा सचेतना मूलक कक्षा सञ्चालन गर्नुको मुख्य उदेश्य पर्यावरणको संरक्षण गर्नु र सर्पको कारण हुने मानवीय मृत्यु न्युनिकरण गर्नु , बालबालिकालाई पर्यावरणको बारेमा जानकारी दिनु र सर्पको पहिचान नभएर हुने मानवीय मुत्यृको न्युनिकरण गर्नु कार्यक्रयको लक्ष्य रहेको युवा परिचालन अभियान अभियान्ता रामराज ढकालले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ विश्वको पाइने हरेकको आफ्नो महत्व छ । मानव चेतनशिल प्राणी भएर पनि प्रकृतिको विनाश गरिरहेको छ । त्यहीँ मानवीय विनाशका कारणका पछिल्लो समय मानव वन्यजन्तु द्वन्द्व बढीरहेको छ । मानवले वन्यजन्तुको प्राकृतिक वासस्थान विनाश गरेको कारण वन्यजन्तु पछिल्लो समय मानव वस्तीतिर प्रवेश गर्ने र धनजनको क्षति हुने गरेको छ । भने प्रकृतिमा पाइने जैविक विविधताको संरक्षण गर्न सकिएन् भने मानव अस्तिव नै सङ्कटमा पर्न सक्छ । त्यसकारण मानव र वन्यजन्तुको बीचमा हुने द्वन्द्व न्युनिकरण गर्नका लागि समुदाय स्तरमा सचेतना जगाउन जरुरी छ । बर्खा लागेसँगै अब गाउँआगनमा सर्प देखा पर्न थाल्छन् । कुन कुन सर्प विषालु हुन्छन् कुन हुँदैनन् भनेर सर्पको पहिचान गराउन पनि विद्यार्थीका लागि सचेतना मूलक कक्षा सञ्चालन गरिएको हो ।’
सर्पको बारेमा ज्ञान नभएर सर्प समाउन जाँदा समेत कयौको ज्यान गएको छ , भने कतिपय मानिस सर्प देख्ने बितिकै सर्प मार्ने हुँदा कतिपय सर्प मारिएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान अभियान्ता दिनेश आचार्यले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ यदी कसैले सर्प देखेमा तत्काल सर्प उद्धार गर्ने व्यक्तिलाई वा बर्दिया राष्ट्रिय निकुञ्जको लागि डिभिजन वन कार्यालय वा सवडिभिजन वन कार्यालयमा जानकारी गराएर सर्पको उद्धार गरौँ ।’


