
दलबहादुर सुनार /बर्दिया (बढैयाताल)। जिल्लाको पर्यटकीय सम्भावनायुक्त बढैया ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ । यसको संरक्षणका लागि सरोकार भएकाहरूले ध्यान दिन सकेका छैनन्, जसको फाइदा उठाउँदै अतिक्रमण गर्दा तालको अस्तित्व नै संकटमा पर्न थालेको स्थानीयको बुझाइ छ ।
बढैयाताल गाउँपालिका–५ मा अवस्थित यो ताल बर्दियाको पुराना र ठूला तालहरूमध्ये एक हो । विसं २०६५ मा नापी कार्यालय बर्दियाले गरेको सीमाङ्कनअनुसार १०७ बिगाह चार कठ्ठा १७.५ धुर क्षेत्रफलमा ताल फैलिएको छ । यही तालबाट गाउँपालिकाको नामाकरण गरिएको हो । हाल सोही ताल संटमा पर्नु दुःखद् भएको स्थानीय कर्णबहादुर थापाको भनाइ छ ।

गाउँपालिका–४ का पूर्ववडाध्यक्ष थापाका अनुसार यहाँ पछिल्ला छ÷सात वर्षदेखि चराको संख्या उल्लेख्य रूपमा घटेको छ । प्लास्टिक प्रदूषणसँगै लुकिछिपी गरिने चराचुरुङ्गीको शिकारले विदेशी चराहरूको आगमनमा कमी आएको छ । ताल वरपर प्लास्टिकका बोतल, सिसाका टुक्रा र अन्य फोहोरजन्य सामग्री यत्रतत्र देखिन्छन् । एक समय सयँंै प्रजातिका चराचुरुङ्गीहरूको सुरक्षित बासस्थानका रूपमा चिनिने यो तालमा हाल साइबेरियादेखि आउने पाहुना चराहरू आउन छोडेका वडा नं ५ का पूर्ववडासदस्य रामकुमार विकले बताउनुभयो ।
वडा नं. ५ का अध्यक्ष तुलाराम चौधरी ताल वरपरको सार्वजनिक जमिन भूमाफियाले अतिक्रमण गर्न थालेका र यसबिरुद्ध आवाज उठाउँदा आफूहरूले नै मुद्दा झेल्नुपरेको गुनासो गर्नुहुन्छ ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लुम्बिनी प्रदेश सम्पर्क कार्यालय नेपालगञ्ज, नापी कार्यालय र मालपोत कार्यालय बर्दियाले संयुक्त अनुगमन गर्दा दाबी गरिएको जग्गा ताल क्षेत्रमा नरहेको प्रमाणित भइसकेको छ’– उहाँले भन्नुभयो ।
वडाध्यक्ष चौधरीले तालको संरक्षण तथा प्रवद्र्धनका लागि स्थानीय, प्रदेश र संघीय सरकारले स्पष्ट नीतिसहित काम गर्नुपर्ने बताउनुभयो । ‘जुन तालको नामबाट गाउँपालिकाको नामाकरण भएको छ, त्यही तालको संरक्षण गर्न नसकेको भनेर जनस्तरमा आलोचना भइरहेको छ । यो हामी सबैका लागि लाजमर्दो कुरा हो । अब गाउँपालिकाले नै संरक्षणका लागि पहल गर्नुपर्छ र यसमा अरू सबै सरोकार भएका निकायले सहयोग गरी पर्यापर्यटन विकासका लागि योजना अगाडि बढाउनुपर्छ’– उहाँले भन्नुभयो ।


