‘भ्रमित सत्य’
हो ! निकै गाह्रो भएको थियो
त्यो दिन, हाम्रो अन्तिम दिन
जब अन्त्य भएको थियो
एउटा सपनाको
एउटा चाहनाको ।
मेरा हरेक कथासँग जोडिएकी
मेरो हरेक कल्पनामा
नायिका बनेर आउने तिमी
मेरा कविताहरूको शिर्षक
हरेक वर्णन तिमी ।
मेरा हरेक कथा, कल्पना
अधु…….रो बनाउने तिम्रो अनुपस्थितिले
मेरो जिन्दगी पनि अधु…….रो हुनेछ
मेरो जिन्दगीको भ्रमित सत्य ।
तर आज,
मेरा कुनै कथाहरू अधुरा छैनन्
कुनै कविताहरू अधुरा छैनन्
अनी, जिन्दगी पनि अधुरो छैन
जसरी तिमी छैनौ, यो जिन्दगीमा ।
धन्यवाद तिम्रा कल्पनाका ती पात्रहरूलाई,
जो हरेक पटक
मेरो स्थान ओगट्न आइपुग्थे
धन्यवाद तिम्रा कथा ती पात्रहरूलाई
जो तिम्रा हरेक कथामा फेरिएका हुन्थे ।
अनि धन्यवाद
तिम्रा ती सम्पूर्ण ‘पार्ट-टाइम’ प्रेमीहरूलाई
जसले तोडिदिए मेरो भ्रमित सत्य
र अलग्याईदिए तिमीलाई मेरो कथाबाट
र त आज म आफैमा स्वतन्त्र छु
र त आज म आफैमा पूर्ण छु ।