
प्रकाश पौडेल, गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको गोही प्रजनन केन्द्रमा घडियाल गोहीले ९० वटा बच्चा कोरलेको छ । प्रजनन केन्द्रभित्र रहेको १२० भन्दा बढी अण्डामध्येबाट घडियाल गोहीले ९० वटा बच्चा कोरलेको हो ।
घडियाल गोही सफा नदीमा बस्ने र माछा खाने गर्छ । यो गोही मगर गोही जस्तो जहाँ पायो त्यहीँ जादैन भने यसले मानिसलाई आक्रमण गदैन् । तर, पछिल्लो समयमा भइरहेको नदी प्रदुषण, प्राकृतिक बासस्थानको विनास, नदीमा माछा मार्न जाने व्यक्तिले अण्डा फुटाइदिने जस्ता कारण गोहीको अस्तित्व समेत संकटमा पर्दै गएको छ ।

गोहीको अस्तित्व संकटमा पर्दै गएपछि सरकारले निकुञ्जभित्र प्रजनन केन्द्र स्थापना गरिएको छ । गोही प्रजनन केन्द्रको स्थापना भएपछि बर्दिया राष्ट्रिय निकुञ्जभित्र नौवटा पोथी गोही राखिएको थियो ।
जसमध्ये चारवटा पोथी गोहीले यसवर्ष ९० बच्चा कोरलेको निकुञ्ज वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक रामले बताए । उनले भने, ‘गोहीले कोरलेको ९० वटा बच्चा अहिले प्रजनन केन्द्रभित्र सुरक्षित रहेको छ । गोहीले ०८१ मा ५२ वटा बच्चा जन्माएको थियो, जसमध्ये ३५ बच्चा बाँचेका थिए । त्यसैगरी ०८१ मा ८० वटा बच्चा कोरलेको थियो, जसमध्ये ६४ वटा बच्चा बाँचेका थिए भने ०७९ मा ६० वटा बच्चा कोरलेको थियो, जसमध्ये ३८ वटा बच्चा बाँचेका थिए ।’
निकुञ्जका रेन्जर सन्त मगरले प्रजनन केन्द्रमा रहेका घडियालले एक साता अगाडि बच्चा कोरलेको बताए । उनले भने, ‘प्रजनन केन्द्रमा रहेको गोहीको बच्चा ठूलो भएपछि नदीका लगेर छोड्ने गरिएको छ । यसअघि बर्दियाको बबई नदीमा १३ वटा र बाँकेको राप्ती नदीमा १० वटा घडियाल छोडिएको छ ।’


