
कृष्णसार अनलाइन । बर्दियाको बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोेड्ने जब्दीघाटमा पुल निर्माणका लागि नेपाल सरकारले आगामी आर्थिक बर्ष २०८२/०८३ को लागि थप ११ करोड रुपियाँ रकम विनियोजन भएको छ । गत पुषमा नेपाल सरकार अर्थ मन्त्रालयले पुल निर्माणका लागि एक अर्ब एक करोड २९ लाख बजेट सुनिश्चितता गरी एक करोड रुपियाँ रकम विनियोजन गरेको थियो ।

अर्थ मन्त्रालयले बजेट सुनिश्चितता दिई सके पछि पुल निर्माणको प्रक्रिया थालिएको थियो । डिजाइन एण्ड ब्युल्ट मोडलमा पुल निर्माण हुने भएकोले इस्ट्याण्डर्ड विडिङ्ग डकुमेन्ट निर्माणका लागि सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँमा पठाईएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नरेन्द्र भट्टले बताउनु भयो । डकुमेन्ट निर्माण अन्तिम चरणमा भएको हुनाले केही समय पछि ठेक्का हुने उहाँले बताउनु भएको छ । निर्माणको जिम्मा पाउने कम्पनीले पहिले डिजाईन गरेर स्विकृत भईसकेपछि पुलको निर्माण कार्य सुरु गर्ने उहाँले बताउनु भयो ।
पुल निर्माण भएपछि बारबर्दिया नगरपालिका सदरमुकाम गुलरिया सँग प्रत्यक्ष जोडिने छ । २०७४ सालको बाढीमा पुल निर्माण भएर हस्तान्तरण नहुँदै जब्दीघाटको पुल भासिएको थियो । पुलबाट जोखिम मोलेर स्थानीयहरु आवतजावत गरीरहेका थिए । २०७९ सालको बाढीले पुल पूर्ण रुपमा भत्किएपछि आवतजावत नै ठप्प भएको थियो । हाल बारबर्दिया बासी सदरमुकाम पुग्नका लागि बर्षातमा डुंगाको भरमा नदी तर्ने गरेका छन् भने हिउँद याममा पैसा तिरेर काठको पुल तर्न बाध्य छन् ।
पुल नहुँदा सास्ती पाएपछि विभिन्न तवरबाट पुल निर्माणका सरकारसँग माग गर्ने र दवाव दिने कार्य भईरहेको थियो । पछिल्लो समयमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज लक्ष्मण ज्ञावली, केन्द्रिय सदस्य खडकबहादुर खड्का, केन्द्रिय सदस्य भिम केसी, केन्द्रिय सदस्य एवम् सभासद् शोभा ज्ञावली, नेकपा एमाले बर्दियाका अध्यक्ष शालिकराम अधिकारी, सभासद् शान्ति थारु लगाएतको टोलि ज्ञापन पत्र सहित प्रधानमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालय लगाएतका स्थानमा पुगेका थिए ।
ज्ञापनपत्र पश्चात् अर्थ मन्त्रालयले तत्काल नै जब्दीघाटमा पुल निर्माणको लागि स्रोत सुनिश्चितता गरेकोे नेकपा एमालेका केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज लक्ष्मण ज्ञावलीले बताउनु भयो । उहाँले केही समयमा सम्पूर्ण पक्रिया पुरा भई ठेक्का हुने बताउनु भयो । आगामी आर्थिक बर्षका लागि ११ करोड बजेट विनियोजन भएको बताउँदै बजेट अभावले पुल निर्माणमा अवरोध हुन नदिने अर्थमन्त्रीले प्रतिवद्धता जनाएको बताउनु भयो ।






