
यज्ञप्रसाद सापकोटा, बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीहरूलाई जीवननिर्वाह भत्ता दिँदै आएको छ । नगरपालिकाले बेपत्ता पारिएका व्यक्तिको परिवारलाई घर चलाउन सहज होस भनेर जिवननिर्वाह भत्ता दिँदै आएको हो ।
राजापुर नगरपालिकाले विगत् दुई वर्ष अगाडि देखि बेपत्ता पारिएका व्यक्तीका श्रीमतीलाई मासिक दुई हजार रुपियाँ जीवन निर्वाह भत्ता दिँदै आएको छ । राजापुर नगरपालिकामा रहेका ३४ जना बेपत्ता पारिएका व्यक्ती मध्ये १५ जनाको श्रीमतीलाई जीवन निर्वाह भत्ता दिइएको राजापुर नगरपालिकाले जनाएको छ ।

सरकारले सामाजिक सुरक्षा भत्ता नदिएका बेपत्ताका श्रीमतीहरू श्रीमान् नभएकोले घर चलाउन र जिविकोपार्जन गर्नका लागि सहज होस् भनेर शहिद तथा श्रीमान् मृत्यु भएका महिलाहरू सामाजिक सुरक्षा भत्ता दिँदै आएको राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारूले बताउनु भयो । द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तीहरूका श्रीमतीलाई कानुनी रुपमा सामाजिक सुरक्षा भत्ता दिन नमिल्ने हुनाले नगरपालिकाले कार्यविधि बनाएर जिवन निर्वाह भत्ता दिएको राजापुर नगरपालिकाका थारूले बताउनु भयो ।
जीवन निर्वाह भत्ता पाएपछि बेपत्ता पारिएका व्यक्तीका श्रीमतीहरू हर्षित भएका छन् । जीवन निर्वाह भत्ताले जिवन यापन गर्नका लागि सहज भएको राजापुर नगरपालिका वडा नं ६ मानपुरटपराकी शिवा थारूले बताउनु भयो । उहाँले भन्नु भयो –‘मृतकका श्रीमतीले सामाजिक सुरक्षा भत्ता पाउने तर बेपत्ता भएका व्यक्तीका श्रीमतीले केहि पनि नपाउने अवस्था थियो, अहिले नगरपालिकाले हामीलाई सम्मान स्वरुप जिवन निर्वाह भत्ता दिएको छ ।’
राजापुर नगरपालिका स्तरीय द्वन्द्वपीडित समितिको अध्यक्ष लौटन कुमारी चौधरीले पीडितहरूले उठाएको आवाजलाई नगरपालिकाले सम्बोधन गरेको बताउनु भयो । उहाँले भन्नु भयो –‘संघिय सरकारले बेपत्ताका श्रीमतीलाई जीवन निर्वाह भत्ताको विषयमा निर्णय नै गरेको छैन तर स्थानीय सरकारले यस विषयमा गम्भिर भएर कार्यविधि बनाएर लागू गरेको छ । हामी खुसी भएका छौँ ।’ उहाँले घर खर्च नै चलाउन नसक्ने र आम्दानीको स्रोत नभएका पीडितलाई जीवन निर्वाह गर्न सहज भएको बताउनु भयो ।


