
प्रकाश पौडेल, गुलरिया । बर्दियामा सडक दुर्घटना, विपत तथा वन्यजन्तुको आक्रमणबाट तीन सय ९६ जनाको मृत्यु भएको छ । चार वर्ष ११ महिनामा सडक दुर्घटना, विपद, तथा वन्यजन्तुको आक्रमणबाट तीन सय ९६ जनाको मृत्यु भएको हो ।
दिनानुदिन मानवीय लापरबाहीका कारण हुने मानवीय क्षति बढ्दै गइरहेको छ । तीब्र गतिमा सवारी चलाउने, मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी चलाउने र व्यक्तिगत लापरबाहीका कारण सडक दुर्घटना परेका मानिसको मृत्यु हुने गरेको छ । भने प्राकृतिक विपत पनि आउँदा असुरक्षित भएर हिँड्डुल गर्ने , नदीमा दाउरा झिक्न जाने जस्ता कारण पनि मानवीय क्षति हुने गरेको छ ।

त्यसैगरी मानव वन्यजन्तुको आक्रमणबाट पनि मानवीय मृत्यु हुने गरेको छ । सामुदायिक वन र मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने व्यक्ति घाँसपात, दाउरा, निहुरो, च्याउ खोज्न जाँदा समेत जङ्गली जनावरको आक्रमणमा परेर मृत्यु हुने गरेको छ ।
कतिपय मानवीय मृत्यु मानवका लापरवाही कारण हुने भएकोले त्यसलाई रोक्न सकिन्छ । जससम्म व्यक्ति सचेत हुदैन्, तबसम्म मानवीय क्षति रोकिदैन । प्राकृतिक विपतबाट हुने मानवीय क्षति कम गर्नका लागि प्रकोप पूर्वको क्रियाकलाप र प्रकोप पश्चातको क्रियाकलाप गरी विपत व्यवस्थापनको तयारी गर्ने गरिएको सहायक जिल्ला अधिकारी रोशनकुमार कठायतले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ प्राकृतिक विपत न्यूनिकरण जोखिम मूल्याङ्कन रोकथाम तथा बचावट क्षतिको नक्साङ्कन नाजुक अवस्थाको मूल्याङ्कन गर्ने आकस्मिक योजना बनाउने, कार्य योजना बनाउने पूर्व चेनावनी दिने जनचेतना जगाउने जस्ता काम गर्ने गरिएको छ । भने प्रकोप आएपछि उद्धार तथा राहतमा जुट्ने व्यक्ति र सम्पत्तिको उद्धार गर्ने प्राथमिक उपचार गर्ने, खाना पानी बासस्थान लता कपडाको व्यवस्थापन गर्ने गरिएको छ ।’
प्राकृतिक बिपत रोकथाम नियन्त्रण मानिसको हातमा नभएकोले प्राकृतिक विपत आइपरेमा कसरी सचेत भएर सुरक्षित हुने भन्ने बारेमा आफू पनि सचेत हुनुपर्ने सहायक जिल्ला अधिकारी कठायत बताउनु भयो ।
मानव वन्यजन्तुको बीचमा हुने द्धन्दबाट हुने मानवीय क्षति कम गर्न सकिने बर्दिया राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक रामले बताउनु भयो ।
उहाँले वन्यजन्तुको आक्रमणबाट सुरक्षित रहन वनजङ्गल घाँसपातको लागि जाँदा समुहमा जाने, वनमा गएपछि केहीले वन्यजन्तु हेर्ने र केहीले घासपात गर्ने, जनवारको गतिविधि अवलोकन गर्ने, निहुरिए नबस्ने, जनावर भएको ठाउँमा नजाने, दिउँसो ३ बजेपछि जनावर गतिविधि बढी हुने भएकोले जङ्गल जाँदा ख्याल बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ बिशेष गरी खेतबारीमा हात्ती आउँदा सबैजना हात्ती धपाउन गएको पाइन्छ । हात्ती धपाउन जान मध्ये केही ज्येष्ठ नागरिक र केही मादक पदार्थ सेवन गरेर गएका घटनाहरु पनि सुन्न पाइन्छ । त्यसकारण हात्ती लखट्न जाँदा युवाहरु मात्र जानुपर्छ । ’
पछिल्लो समयमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने र ट्राफिक नियमको पालना नगर्नुले सडक दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियामा प्रमुख सुधिर खड्का बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ सवारी साधनहरू ट्राफिक प्रहरी नभएको ठाउँमा तीब्र गतिमा सवारी चलाउने र ट्राफिक नियमको पालना नगर्दा पनि सडक दुर्घटना बढेको हो । सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीले नियम उल्लङ्घनका गर्नेलाई कारवाही गर्नुका साथै विभिन्न स्थान सचेतना मूलक कार्यक्रम गर्दै आएको छ । ’ सडकमा यात्रा गर्ने सवारी चालक देखि पैदल यात्रीले ट्राफिक नियमको पालना गर्दा मात्र पनि सडक दुर्घटना न्यूनिकरण गर्न सकिन्छ । त्यसका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने उहाँले बताउनु भयो ।


