
ज्ञानेन्द्रराज पोखरेल, मैनापोखर । व्यवसायिक रुपमा माछा पालन गरिरहेका २७ जना किसानलाई ५० प्रतिशत अनुदानमा सिँचाइका लागि बोरिङ, दाना बनाउने मेसिन, हार्वटिक टङ्की , माछाका भुरा सहयोग गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कालिका मत्स्य पालक कृषि सहकारी संस्थाको साझेदारीमा किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गरिएको हो ।

परियोजना इकाइका सूचना अधिकारी युवराज बिकले यसरी दिइएका कृषि सामाग्रीलाई सही तरिकाले प्रयोग गरी माछाको उत्पादन बढाउन किसानहरू लाग्नु पर्ने कुरामा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘राज्यले गरेको लगानीलाई प्राथमिकतामा राखेर उत्पादन बढाउन सके किसानहरूको समृद्धि हुनेछन् । यहाँ उत्पादन भएको माछा बाहिर पठाउन सकिन्छ ।’
किसानहरू माछा पालन तर्फ आकर्षित हुँदै गै रहेको अवस्थामा यसरी राज्यले अनुदानमा सामाग्री उपलब्ध गराउँदा अवश्य नै उत्पादन बढ्ने करामा आफू विश्वस्त रहेको कालिका मत्स्य सहकारीका अध्यक्ष इन्द्रप्रसाद लुइटेलले बताउनु भयो ।
परियोजनाको ५० प्रतिशत अनुदानमा किसानलाई आवश्यक पर्ने सामाग्री वितरण गरिएको थियो । यसका लागि परियोजनाको १० लाख ४० हजार १ सय ७२ रुपैयाँमा बजेट व्यवस्थापन गरेको थियो ।


