bardiyahospital

झरी पर्ने दिनको प्रतीक्षामा

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । एक्कासि पानी पर्न थाल्यो । ओत लाग्ने ठाउँ खोज्दा खोज्दै पानीले भिजायो । आजकाल मौसमको कुनै भर हुँदैन । म घरबाट निस्किंदा आकाश सफा थियो । बिहान पानी कुनै सम्भावना थिएन । तर अहिले मुसलधारे वर्षा भइरहेको छ ।

जिन्दगीमा यस्ता अनेक घटना भइरहन्छ । आजको यात्राको मूल उद्देश्य भनेको एउटा कथा लेख्नु थियो । जसका लागि मैले क्यामरा, डायरी, पेन झोलामा बोकेको थिए । बर्खा लागेपछि झोलाभित्र २/३ वटा प्लास्टिकको झोला बोक्ने बानीले मैले बोकेको सम्मानहरू सकुशल छन् ।

cld

त्यहीँ कथा खोज्न जाँदा आज पानीले मज्जाले भिजायो । हिँड्दा हिँड्दै पानीमा भिज्नु एक सुखद क्षण हो । आजको यात्रा मेरो लागि एउटा खोज मूलक लेखको लागि थियो । त्यसका लागि मलाई गेरुवा पुग्नु थियो । वर्षाले गर्दा बीच बाटोमा मेरो यात्रा रोकिएको छ । अब के गरूँ भन्ने अन्यौलमा छु । करिब दुई घण्टा पछि पानी पर्न कम हुन थाल्यो। पानीले भिजाए पछि हल्का जाडो समेत भएको छ ।

एकतिर वर्षाको कारण भएको जाडो र अर्कोतिर चियाको तलतल लागिरहेको छ । जेसुकै होस आखिर भिजेको छु, बरु जान्छु कतै चिया पसलमा र चिया पिउँछु भन्ने लागेर फेरि यात्रा सुरू गरे । करिब ५ मिनेट पछि एउटा चिया पसलमा पुगेर चिया अडर गरे । पसलमा एकजना बूढो मान्छे हुनुहुन्थ्यो । उहाँले सान्त्वना दिदैँ भन्नुभयो, ‘ओहो बाबूलाई पानी भिजाएछ । कतै बसेर पानी रोकिए पछि हिँडेका भए हुने थियो नि ।’

मैले त्यो चिया पसलको साहुलाई भने- घरबाट हिँड्ने बेला पानी परेको थिएन ।बीच बाटोमा आएपछि पर्यो । सायद आज मलाई यो झरीमा भिज्न लेखेको रैछ । त्यही भएर भिजियो । बरु हल्का चिनी हालेर चिया पिउनु पर्यो ।बुवा !

करिब ५ मिनेट पछि त्यो बुवाले चिया ल्याएर दिनुभयो ।हातमा चिया दिदैँ भन्नुभयो, ‘बरु चिनी कस्तो भयो कुन्नी ?’

चिया पिउँदै थिए । त्यहीँ बेला एउटा स्कुटर रोकियो । स्कुटरबाट एउटा रेन कोट ओडेकी युवती चिया पसलमा आइपुगी । म बसेको टेबुलमा हेलमेट राखेर रेन कोट खोल्न थाली । गहुँ गोरो वर्ण । गोलो अनुहार । करिब ५ फिट उचाइ । झट्ट हेर्दा उ चलचित्र की नायिका जस्ती सुन्दर थिइ । उ पनि म बसेको टेबुलमा नै बसि । चिया अडर गरी । मलाई उसको सौन्दर्य तानिरहेको थियो । मस्तिष्कको निर्देशन बिना मेरो आँखा पटक पटक उ भए तिर गइरहेको छ। सायद मेरो आँखा मनको निर्देशनमा चलिरहेको छ ।

उसको लागि पनि चिया आयो । उसलाई चिया दिदै पसलको बुवाले भन्नुभयो, ‘ नानी चियामा चिनी अल्लि कम छ ।मलाई देखाउदै भन्नुभयो , यो बाबुले चियामा चिनी कम हाल्नु भनेको कारण चिनी कम हालेको थिए । चिनी थप्नु पर्ने भए भन्नु है ।’

उसलाई देखेपछि मैले चिया पिउन पनि बिसिएको रैछ । मेरो गिलास आधा चिया अझै बाँकी थियो । गिलास उठाएर चिया पिउदै भने बुवा चिया सेलाएछ । अर्को एक कप चिया पनि पिउनु पर्यो । मैले फेरि चिया अडर गरे ।

एकपटक आकाशतिर नजर लगाए । बाहिर झन् कालो बादल लागेको छ । एकातिर पानीको त्रास छ । अर्कोतिर त्यो सुन्दर युवतीको अगाडी बस्नु पाउनु पनि खास छ ।

मान्छेको मुड नै हो नि कति बेला के गर्न मन लाग्छ । थाहा नै हुँदैन ? मैले प्लास्टिकको झोलाबाट मोबाइल झिके । त्यसपछि नवीन के भट्टराईले गाएको ए झरी नझरी देउ यसरी भन्ने गित लगाए । मैले मोबाइल झिक्दा चिया आइसकेको थियो । चियाको स्वादसँगै गितको आनन्द लिए । नजानिदो गरि उसलाई पटक पटक हेरिरहेका थिए ।

चियासँगै सकिने क्रममा थियो । भने गीत अगाडी बढी रहेको थियो । मैले पनि नवीन के भट्टराई सँग स्वरमा स्वरमा स्वर मिलाएर गीत गाए

झरी देउ तिमी सुस्तरी सुस्तरी

जब  हुन्छिन मेरो मायालु मेरो वरिपरि

ए झरी…

सायद उसको पनि यो मन पसन्द गीत हुनुपर्छ । उसको ओठ पनि गीतको लयसँगै चलिरहेको थियो । त्यहीँ मौकामा पारेर मैले पनि सोधे के तपाईं यो गीत मन पर्छ ?

उसले सहजै उत्तर दिई मलाई नवीन के भट्टराईको अधिकांश गीत मन पर्छ । उसको उत्तर सुनेर मैले पनि भने हजुरको मेरो रोजाइ मिल्यो है ।

उता चिया पसलका बुवाले मलाई हेरेर मन्द मुस्कान दिनुभयो । उहाँले मनमनै सोच्नु भएको होला झै लाग्यो  – आजको झरीले राम्रै काम गरेछ है केटा ।

मैले चिया पसलको बुवाको तिर खासै ध्यान नदिएर उसँग परिचय गर्न थाले । उसको परिचय गर्ने तरिका अलिकति अनौठो लाग्यो ।उसले मुस्कुराउदै भनी म यायावर हुँ।आज संयोगले यहाँ आइपुगे । मेरो घर कहाँ हो मलाई नै थाहा छैन । छोरी मान्छे घर बिहे भएपछि मात्र फिक्स हुन्छन् रे । त्यहीँ भएर आजसम्म म यायावर नै हुँ । उसको परिचय गर्ने शैली मलाई निकै उत्कृष्ट लाग्यो ।

मैले भने तपाईं यायावर हुनु हुँदो रहेछ । म भने मुसाफिर हुँ ।कहिले कहाँ कहिले कहाँ हिडिरहेको हुन्छ । आज तपाईंसँग भेट हुन लेखेको रैछ । त्यहीँ भएर घुम्दा घुम्दै यहाँ आइपुगे । म जहाँ गएपनी साँझ परे पछि चरा झै फर्क आफ्नै गुँडमा बस्ने बानी छ । मेरो गुँड चाँही गुलरियामा छ । मलाई सबैले मुसाफिर भनेर चिन्ने गर्छन् । सामाजिक संजाल समेत मुसाफिरको नामको आइडी छ । तपाईं सामाजिक संजालमा जोडिनु सक्नु हुन्छ ।

त्यसपछि हाम्रो परिचय र केही रमाइलो गफगाफ भयो । बिस्तारै आकाश पनि खुल्दै जान थाल्यो । उसले मुस्कुराउदै फेरि भेट्ने बाचा गरि ।मेरो नम्बर मागी । अनि भनी यस्तै झरी परेको दिन म फोन गर्नेछु  भनी । मलाई चिन्नु हुन्छ कि नाइँ बिचार गर्नेछु । भन्दै बिदा भइ ।

मैले पनि चियाको पैसा दिएर त्यहाँबाट निस्किए । चिया पसलेले बुवाले मुस्कुरादै भने जिन्दगीमा यस्तो झरी फेरि पनि परोस् है बाबु शुभकामना ।

सायद चिया पसलले बुवाले हाम्रो कुरा सुनिरहेका थिए । उहाँले भनेको कुरा नसुनेझै गरि म पनि बिदा भए ।आजको दिनमा झै झरी फेरि झरी पर्ने दिनको प्रतीक्षामा । यायावर अर्थात निलिमाको फोनको प्रतीक्षामा ।चिया पसलबाट बाहिर निंस्किएर गुँडमा फर्किए । गुँड फर्किदा साँझको सात बजेको थियो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.