
प्रकाश पौडेल,गुलरिया । थारू समुदायको बसोबास रहेको बालापुर गाउँ तरकारी खेतीले चिनिएको गाउँ हो । गुलरिया नगरपालिका– ५ मा पर्ने बालापुर गाउँको अधिकांश व्यक्तिहरू कृषि पेसामा आबद्ध छन् । करिब दुई घरधुरी रहेको यस गाउँका अधिकांश व्यक्तिले खेती गर्दै आएका छन् भने केहीले बंगुर पालन समेत गरेका छन् ।
तरकारी खेतीबाट बालापुरको किसानले गाउँलाई मात्र चिनाएका छैनन् । कृषि पेसाबाट आर्थिक आय आर्जनसमेत गरेका छन् भने परिवारको साथमा बसेर स्वरोजगारसमेत भएका छन् । तरकारी खेती बङ्गुर पालनबाट हुने आम्दानीले परिवारको जीवनयापन गर्नुको साथै छोराछोरीलाई शिक्षादीक्षा प्रदान गर्दै आएका छन् ।

बालापुर गाउँकी किसान रामटोली चौधरीले करिब १० कट्ठा जग्गामा तरकारी खेती गर्दै आएको बताउनु भयो। ‘बेमौसमी खेती गर्दा बढी फाइदा हुने भएको हुँदा बेमौसमी खेती गर्दै आइरहेको छौँ,’ उहाँले भन्नुभयो , ‘अहिले बारीमा बन्दा र लौका लगाएका छौँ अब केही समयमा बन्दा र लौका बिक्री गर्नको लागि तयार हुन्छ ।’

तरकारी खेतीबाट आएको पैसाले परिवारको गुजारा चलाउनुको साथै दुईवटी छोरीलाई पढाइरहेको उनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो परिवारमा १२ जना छौँ । छोरीहरू पढ्नका लागि सुर्खेत र नेपालगन्ज गएका छन् । तरकारी बेचेर आएको पैसाले उनीहरू पढाइ खर्च चलिरहेको छ ।’
बालापुर गाउँका किसानहरूले बारीमा बन्दा, गोभी, मुला, भान्टा, टमाटर, खुर्सानी करेला लौका जस्ता तरकारी रोप्दै आएका छन् । गाउँमा धेरैले तरकारी खेती गर्न थालेपछी पछिल्लो समय व्यापारीहरू तरकारी किन्न गाउँमा तरकारी किन्न आउन थालेको दिनेश चौधरीले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘तरकारी लिनका लागि बाँके र कैलालीबाट समेत व्यापारीहरू आउन थालेका छन् । पछिल्लो समय गाउँमा बसेर व्यावसायिक तरकारी खेती गरेर जीवनयापन गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको छ ।’
तरकारी खेतीबाट राम्रो आम्दानी भए पनि मल, सिँचाइ माटोको नियमित परीक्षण हुनुपर्नेमा किसान माग रहेको छ । तरकारी खेतीबाट राम टोली र दिनेशजस्तै धेरै किसान स्वरोजगार भएर आत्मनिर्भर बन्दै छन् भने तरकारी खेती गरेर गाउँलाई समेत चिनाएका छन् ।


