
प्रकाश पौडेल, गुलरिया । बर्दियाको मधुवन नगरपालिका, १ डल्लामा रहेको डल्ला मध्यवर्ती सामुदायिक वन र शिव सामुदायिक वनमा निकुञ्जले गस्ती बढाएको छ । डल्ला मध्यवर्ती सामुदायिक वन र शिव सामुदायिक वनको बाटो भएर खाता जैविक मार्गमा वन्यजन्तुको आवतजावत , सङ्ख्या र गतिविधि बढेसँगै निकुञ्जले गस्ती बढाएको हो ।
वनमा हुन सक्ने अवैध गतिविधि रोक्नका लागि निकुञ्जले ३ वटा हात्तीको प्रयोग गरी गस्ती गरिरहेको छ । भने निकुञ्जका कर्मचारी र नेपाली सेनाले सादा पोशाकमा गस्ती बढाएको छन् । भने चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका अभियन्ताहरूले समेत निगरानी बढाएका छन् । डल्लामा वन्यजन्तु सजिलै देखिएको भएको हुँदा त्यहाँ आउने पर्यटकको सङ्ख्या समेत बढिरहेको छ ।


निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक रामले डल्लामा वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसे मैदान र पानीको राम्रो व्यवस्थापन भएकोले डल्लाका चितल र रतुवा गैँडा , हात्ती र पाटेबाघ देखिन थालेको बताउनु भयो । उहाँले भन्नुभयो , ‘पाटेबाघको कोर एरिया हुने भएकोले जहाँ पायो त्यहाँ बाघ जादैन् । तर हात्ती, गैँडा आवतजावत गरिरहने भएको पनि वन्यजन्तु डिस्टर्ब नहोस् र अवैध गतिविधि हुन नपाओस् भनेर गस्ती बढाएको छ । विशेष गरी यो बेलामा हात्तीको बथान यहीँ बाटो भएर हिड्ने गर्छ । वन्यजन्तुको संरक्षण तथा सुरक्षा लागि २४ घण्टा नै गस्ती गर्न थालिएको छ ।’
डल्ला मध्यवर्ती सामुदायिक वन र शिव सामुदायिक वनमा एक हप्तादेखि लगातार पाटेबाघ र गैँडा देखिएको छ । भने हात्तीका बथान समेत बेला बेलामा देखिने गरेको प्रकृति पद प्रर्दशक दिनेश आचार्यले बताउनु भयो ।


