
प्रकाश पौडेल, गुलरिया । बर्दियाको मधुवन नगरपालिका, १ डल्लामा रहेको डल्ला मध्यवर्ती सामुदायिक वन र शिव सामुदायिक वनमा दैनिक बाघ देखिन थालेपछी डल्ला जाने पर्यटकको सङ्ख्या बढेको छ । दैनिक ६/७ पटक बाघ देखिन थालेपछी बाघ हेर्न डल्ला जाने पर्यटकको सङ्ख्या बढेको हो ।
अन्य वन्यजन्तुको भन्दा बाघ फरक हुन्छ । बाघ एक्लै बस्न मन पराउँछ । बाघ बलियो र शक्तिशाली भएकोले अन्य वन्यजन्तुको सिकार गरी खान्छ । शरीरमा गाढा सुन्तला रङका रौँले ढाकिएको हुन्छ र जसमा कालो रङको मोटा धर्साहरूको अलग अलग पाटा हुन्छ । त्यहीँ पाटाले गर्दा बाघलाई पाटेबाघ भनिन्छ । भने छातिमा सेतो र आँखा निलो र हरियो हुने बाघ एकदमै सुन्दर हुन्छ । भने भाले बाघले आफ्नो साथमा चारपाँच वटा पोथीलाई आफ्नो साथमा राख्ने गर्छ । पाटे बाघलाई हेर्न देश विदेशबाट आउने पर्यटक सङ्ख्या बढिरहेको छ । भने पछिल्लो समयमा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्र डल्लामा लगातार बाघ देखिन थालेपछी बाघ हेर्न र बाघको तस्बिर क्यामरा कैद गर्न जाने पर्यटकको सङ्ख्या बढेको छ ।

गुलरिया नगरपालिका, ५ का धीरज शाहीले शनिबार भएकोले साथीहरू मिलेर डल्ला गएको र डल्ला गएको केही बेरमा बाघ देखिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ जिन्दगीमा यति नजिकबाट कहिले बाघ देख्न पाएको थिएन । नजिकबाट बाघ देख्ने पाए । साथीहरूले पनि बाघ देखे । सुरुमा बाघ देख्दा डर लाग्यो । जब बाघ पानीमा गएर बस्यो त्यसपछि डर कम भयो । मज्जाले बाघ देखियो । मैले कल्पना गरेको भन्दा बाघ धेरै ठुलो थियो । करिब आधा घण्टा पानीमा बसेर बाघ फेरि जङ्गल पस्यो ।’ जीवनमा पहिलो पटक बाघ देख्न पाएकोमा शाही र उहाँका साथीहरु बाघ देख्दाको खुसी एक आपसमा साटासाट गरी रहनु भएको थियो ।
चोरी सिकारी नियन्त्रण युवा परिचालन अभियान उपसमिति सूर्यपटुवा अध्यक्ष तथा होमस्टे सञ्चालक गोविन्द थारूले डल्लामा पर्ने वनमा बाघको गतिविधि बढेसँगै बाघ हेर्न आउने पर्यटकको सङ्ख्या बढेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ पछिल्लो समयमा बाघ हेर्न आउने मध्ये अधिकांश पर्यटक डल्लामा आउन थाल्नु भएको छ । ९/१० दिनदेखि लगातार बाघ देखिएको छ । बाघ हेर्न आउने पर्यटकका लागि डल्ला अहिले महत्वपूर्ण बनेको छ । डल्लामा बाघ हेर्न आउने पर्यटक सङ्ख्या बढेको छ । अझै यसको प्रचारप्रसार हुन सकेमा अझै पर्यटक बढ्ने सम्भावना रहेको छ ।’
वन्यजन्तु देखाएर पनि देशको अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ । रोजगार सिर्जना गर्न सकिन्छ । त्यसका लागि पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुन जरुरी छ । पर्यटन क्षेत्रमा राज्यले पर्याप्त मात्रामा लगानी गरी प्रचारप्रसार गर्न पनि जरुरी रहेको छ ।


