bardiyahospital

‘बुकीपाटन’ पदयात्रका लागि उत्कृष्ट गन्तव्य

Geruwa GIF

डम्मर बुढा मगर, बागलुङ  ।  हरिया अजङ्गका पहाड । त्यही पहाडका काखमा समथर मैदान । समुन्द्रि सतहदेखि चार हजार मिटरभन्दा अग्ला पहाडमा हिजोआज पदयात्रा जाने पर्यटकको संख्या बढ्दै गएको छ । अझ यो याममा त दैनिक जसो पर्यटक उक्लि रहेका छन् । जुन ठाउँ हो ‘बुकीपाटन’ । पाँच वर्ष अगाडिसम्म गोठाला र वस्तुभाउ मात्रै बस्ने बुकीपाटनमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।

पदयात्रा गर्न रुचाउनेहरुका लागि त झन् बुकीपाटन उत्कृष्ट गन्तव्य बनेको छ । उच्च पहाडी हावापानी, शान्त वातावरण र मनमोहक दृश्यले पर्यटकलाई आकर्षित गर्ने गर्छ । गाउँबाट होस् या सहरबाट युवाहरुको जमातले बुकीपाटन उक्लिने पदमार्गमा चहपलह उत्तिकै देखिन थालेको छ । सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट बुकीपाटनको व्यापक रुपमा प्रचारप्रसार हुन थालेपछि हिजोआज पदयात्रा गर्ने पर्यटको संख्या बढेको हो ।

cld

बुकीपाटनमा पुग्ने पर्यटकले नजिकैबाट दर्जनौँ हिमश्रृङ्खला, गोठाले जीवन देख्न र अनुभूति गर्न पाइने र गर्मी याममा सितला हुने हुँदा युवाहरुमा ‘ट्रेकिङ’ मोह पनि बढेको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटन गत वर्षदेखि बढी चर्चामा आएको हो । ढोरपाटन उपत्यकाबाट करिब साढे चार घण्टाको पैदल यात्रामा पुग्न सकिने बुकीबाटन तीन हजारदेखि चार हजार ५०० मिटरको उचाईसम्म पर्छ । बुकीपाटन चढ्ने याम असारदेखि असोजसम्म रहेको ढोरपाटन नगरपालिका–९ का गुनबहादुर बुढा मगरले बताउनुभयो ।

यो याममा बुकीपाटन बढी मनमोहक हुने हुँदा पदयात्रमा जाने पयटक बढी आउने उहाँको भनाइ छ । पहिले ढोरपाटन आउने पर्यटक उपत्यकाबाट मात्रै फर्किने गरेको भन्दै हिजोआज बुकीपाटनमै उक्लिने गरेको बुढा मगरले बताउनुभयो । आफूहरु बर्खामा वस्तुभाउ लिएर बुकीपाटन उक्लिने र हिउँदमा बेसी झर्ने गरेको स्मरण गर्दै पहिले बाहिरी मान्छे खास्सै नजाने गरेको उहाँले सुनाउनुभयो । यो याममा दैनिक ५० जना युवाहरु बुकीपाटनमा जाने गरेको बुढा मगरको भनाइ छ ।

उहाँले भन्नुभयो – “अहिले त घुमफिर गर्ने चलन आयो, युवाहरु खुब रमाइलो गर्दै बुकी चड्छन्, स्टिलका लौरा समातेका, झोला बोकेका, फोटो खिच्दै हिड्छन्, हामीहरुलाई देखे भने पुराना पुराना कुरा सोध्छन्, कोहीले त हाम्रो फोटो लगेर मिडियामा देखाउँछु भन्छन्, घुम्न आउनेहरुलाई त रमाइलोनै हुन्छ होला, हामी जस्तो दुःख गर्ने मान्छेलाई के रमाइलो भन्ने के नरमाइलो भन्ने ।”

ढोरपाटन उपत्यकाका होटल व्यवसायी धिरेन्द्र घर्ती मगरले पछिल्लो समय बुकीपाटन चर्चामा आएको बताउनुभयो । पहिले गुमनाम रहेको बुकीपाटनमा अहिले दैनिकजसो पर्यटक ‘ट्रेकिङ’ जाने गरेको उहाँको भनाइ छ । पोखरा, काठमाडौँ, बुटवल, चितवन लगायतका ठाउँबाट युवाहरु पदयात्रा गर्न आउने गरेको घर्तीले बताउनुभयो ।

“बुकीपाटन निकै मनमोहक छ, यतिका समयसम्म ओझेलमा थियो, अहिले सामाजिक सञ्जाल र मिडियामा प्रचार हुँदा धेरै पर्यटकको आमगन भएको छ, पहिलो उपत्यकाबाट फर्किने पर्यटकहरु अहिले बुकीपाटन उक्लिने गरेका छन्” उहाँले भन्नुभयो – “ढोरपाटन आउने धेरै जसो बुकीपाटन जाने तयारी गरेर आएको पाइन्छ ।”

चितवनका रेवनकुमार शाक्यले तराईमा गर्मी हुँदा सितलताका लागि बुकीपाटन पदयात्रा आएको बताउनुभयो । ढोरपाटनसम्म गाडीमा आएको सुनाउँदै त्यसभन्दा माथि पदयात्रा गरेको उहाँको भनाइ छ । बुकीपाटन जाँदा बाटोमा धेरै पदयात्रीहरु देखेको सुनाउँदै आफूहरु पनि पाँच जनाको टोली आएको शाक्यले सुनाउनुभयो । बुकीपाटन पुग्ने पदमार्गलाई अझै व्यवस्थित गर्नु पर्ने उहाँको भनाइ छ ।

पछिल्लो समय बुकीपाटन जाने पर्यटकको संख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु २० लाखमा पदमार्ग लगायतका पूर्वधार निर्माण छ । ढोरपाटन नगरपालिका–९ पाखाथरदेखि गर्पाछेडासम्मको पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिनुभयो । पदमार्गसँग विभिन्न ठाउँमा काठेपुलसमेत निर्माण गरेको उहाँको भनाइ छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.