
कृष्णसार अनलाइन । बर्दिया पछिल्लो समयमा चितुवाको आक्रमण बढ्दै गएको छ । चितुवाको आक्रमणबाट हुने मानवीय क्षति र मृत्युलाई रोक्नका लागि वनमा जाँदा सचेतना अपनाउन जरुरी रहेको छ । वन जङ्गलमा जादा मानिसले अपनाउने सावधानीले मानवीय क्षति र मृत्यु रोक्न सकिन्छ । चितुवाको आक्रमण बच्नका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाम्फेले निम्न उपाय अपनाउनु पर्ने बताउनु भयो ।
– जङ्गलमा हिँड्दा चितुवाको पाइला वा गन्ध याद गर्ने। ताजा पाइला देख्नेबित्तिकै वा चितुवाको गन्ध थाहा पाउने बित्तीकै सतर्क हुने ।

– अन्य जीवजन्तुको सङ्केत ( चित्तल, बाँदर वा चराहरूको आवाज ) याद गर्ने । चितुवा वा बाघ देख्दा यिनीहरू कराउने गर्छन् ।
– चितुवा जम्काभेट हुँदा वा चितुवाबाट बच्न रूख चढ्नु हुदैन । किनभने चितुवा रूख चढ्न सिपालु हुन्छ र अग्लो, ठूलो रूख पनि सजिलै चढ्छ ।
–चितुवासँग जम्काभेट भएको खण्डमा, थपडी मारेर होहल्ला गरेर भगाउने ।
– साँझमा घर बाहिर नबस्ने साथै राति घरबाट बाहिर निस्कनै परे सतर्क भएर होसियारी पूर्वक निस्कने । आफ्ना केटाकेटीलाई साँझ अबेरसम्म बाहिर खेल्न नदिने ।
– जङ्गल छेउछाउका क्षेत्रमा बस्नेहरूले साँझ एक्लै हिँडडुल नगर्ने । साँझको बेलामा चितुवाहरू शिकारको खोजीमा बढी सक्रिय हुने गर्दछन् ।
– घरको वरिपरि अग्लो घाँस, झाडी, बुट्यान नराख्ने । यस्तो झाडी, बुट्यानमा चितुवा लुकेर बस्न सक्छ ।
– दिसापिसाब गर्न जङ्गलमा नजाने ।
– जङ्गल जाँदा समूह जाने । पालैपालो वन्यजन्तुको हेर्ने ।
– चितुवाले प्रायः बालबालिका र बसेर काम गरेको अवस्थामा आक्रमण गर्ने हुँदा जङ्गल नजिक काम गर्दा सचेत रहने
कुनै पनि बन्यजन्तुले मान्छेलाई आक्रमण गरेको थाहा पाउना साथ नजिकका गाउँहरूमा पनि खबर गरिदिनुका साथै वन वा निकुञ्ज कार्यालयमा पनि सक्दो छिटो खबर गरेको खण्डमा थप क्षति हुनबाट जोगाउन सकिन्छ


