
कृष्णसार अनलाइन । निजी विद्यालयहरूका विरुद्ध अभिभावकहरूले आन्दोलन सुरु गर्नुपर्ने समय आएको अनेरास्ववियुका जिल्ला अध्यक्ष छविलाल लम्सालले बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत निजी विद्यालयहरूका विरुद्ध अभिभावकहरूले आन्दोलन सुरु गर्नुपर्ने समय आएको अनेरास्ववियुका जिल्ला अध्यक्ष छविलाल लम्सालले बताउनु भएको हो ।
लम्सालले विभिन्न बहानामा शुल्क असुल्ने, पब्लिकेसन्सबाट छुटमा किताब ल्याउने र तर अभिभावकलाई किताब बेच्दा छुट नदिने, पब्लिकेसन्सबाट ४० देखि ५० प्रतिशतसम्म मूल्यमा किताबहरू ल्याउने अनि विद्यार्थीहरूलाई सत प्रतिशत मूल्यमा किताब बेच्ने गरेको सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा छात्रवृति दिने व्यवस्था कानुनमा भए पनि विद्यालयले विद्यार्थी सङ्ख्याको आधारमा छात्रवृत्ति नदिने, विद्यालयले छात्रवृति दिदाँ सञ्चालक छोराछोरी र आफन्तलाई मात्र छात्रवृति दिने , एकै परिवारका ३ जना विद्यार्थी विद्यालयमा भर्ना भएमा १ जनालाई छुट दिने र सो छुटलाई छात्रवृतिमा देखाउने गरेको उल्लेख गर्नु भएको छ ।


अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५, अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ र संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९, मा विद्यार्थीलाई दिनुपर्ने छात्रवृत्तिको बारेमा स्पष्ट व्यवस्था गरिएको छ । तर निजी विद्यालयले ऐन, नियमावली, तथा निर्देशिकाको कार्यान्वयन गरेको छैनन् । भने सरोकारवाला निकाय समेत यस बारेमा खासै चासो दिएको पाइदैन् ।
अध्यक्ष लम्सालले जिल्ला भरी एउटै शुल्क निर्धारण गर्ने, राज्यले निर्धारण गरे अनुरूप शिक्षकहरूलाई पारिश्रमिक दिनुपर्ने, छात्रवृत्तिलाई खुल्ला रुपमा प्रतिस्पर्धाका आधारमा पब्लिक दिनुपर्ने, नर्सरी देखि ५ कक्षा सम्मका विद्यार्थीहरूलाई दिवा खाजाको व्यवस्था गर्नुपर्ने, निजी विद्यालय केवल धनीहरूको लागि मात्र नभई, सामान्य आम नागरिकले पनि भर्ना गर्न सक्ने खालको शुल्क संरचना हुनुपर्ने सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ । उहाँले सामाजिक न्यायलाई ध्यानमा राख्दै आर्थिक रूपमा कमजोर परिवारका प्रतिभाशाली विद्यार्थीहरूलाई कानुनले दिएको अधिकारमा रहेर छात्रवृत्ति अनिवार्य दिनुपर्ने बताउनु भएको छ ।
लम्सालले यस्ता तमाम विषयहरूमा अभिभावकज्यू कत्तिको जानकार हुनुहुन्छ ? भन्दै अभिभावकसँग प्रश्न गर्नु भएको छ ।


