
कृष्णसार अनलाइन । १३ वर्षीया नाबालिकालाई यौन दुरुपयोग गरेको कसुरमा फरार रहेका गेरुवा गाउँपालिका –१ बन्जरियाका ३३ वर्षीय सिताराम थारूलाई प्रहरीले ०८२ भदौ १३ गते पक्राउ गरेको छ ।
अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८१ मंसिर २४ गतेको इजलासले यौन दुरुपयोगको कसुरमा थारूलाई ६ महिना ५ दिन कैद सजाय, ७५ हजार क्षतिपूर्ति, चार सय पीडित राहतकोष र १० हजार जरिवानाको फैसला गरेका थिए । अदालतले कसुर कायम गर्दै सजाय तोके पछि घटनाका कसुरदार थारू फरार रहेका थिए ।
सजाय पाएर फरार रहेका कसुरदार थारूलाई प्रहरीले ०८२ भदौ १३ गते गुलरिया नगरपालिका – ६ स्थित बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘फरार रहेका कसुरदारलाई पक्राउ गरी भदौ १५ गते अदालतमा पेश गरिएको छ ।’
कसुरदारले ०८० चैत्र १७ गते यौन दुरुपयोग गरेको भन्दै पीडित पक्षले चैत्र १८ गते इलाका प्रहरी कार्यालय पाताभारमा उजुरी दिएका थिए । प्रहरीले कसुरदारलाई चैत्र १८ गते पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालय बर्दियाले २०८१ बैशाख १२ गते बर्दिया जिल्ला अदालतमा बाल यौन दुरुपयोग गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो । अदालतले बैशाख १३ गते थारूलाई धरौटीमा छोडेको थियो ।


