
कृष्णसार अनलाइन । बर्दियामा महिलाहरूलाई दुना टपरीको तालिम दिइएको छ । मधुवन नगरपालिका, ६ मा पर्ने ग्रामीण महिला सामुदायिक वन उपभोक्ता समूहका महिलाहरूलाई दुना टपरीको तालिम दिइएको हो ।
वन उपभोक्ता समूहका आबद्ध रहेको ३८ जना महिलाहरूलाई असोज १ र २ गते गरी दुई दिनको तालिम दिइएको थियो । वनमा खेर जाने सालको पातबाट दुना टपरी बनाउँदा स्थानीय स्तरमा स्वरोजगारको अवसर सृजना हुने र वर्षेनी भारतबाट आयात हुने प्लास्टिकजन्य प्लेट कचौरीको आयात रोक्न सकिन्छ । भने सालको पातबाट बनाइएको दुना टपरी सजिलै कुहिने भएकोले यो वातावरण मैत्री पनि मानिन्छ ।

सम्वर्धन परियोजना बर्दियाका फिल्ड सहजकर्ता लोकराज परियारले दुना टपरी उत्पादन गरी बिक्री वितरण गरी आत्मनिर्भर बन्नका लागि ग्रामीण महिला सामुदायिक वन उपभोक्ता समूहलाई दुना टपरी बनाउने मेसिन सहयोग गरिएको बताउनु भयो । उहाँले आर्थिक रुपमा पछाडि परेका महिलाहरूले घरका बसेर पनि आर्थिक आयआर्जन गर्न सहज होस् भनेर सहयोग गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, वनमा खेर जाने पातबाट पनि आर्यआर्जन गर्न सकिन्छ । र आत्मनिर्भर बन्न सकिन्छ । भनेर अन्यको प्रेरणाका स्रोत बन्न पनि उपभोक्ता समूहका महिला दिदीबहिनीलाई आग्रह गर्दछु ।’
तालिम सहभागी सामुदायिक वन उपभोक्ता समूहकी सचिव ओमा घर्तीले गाउँ छरछिमेकीको घरमा दुना टपरी बनाउन सहयोग गर्दै आएको भए पनि व्यवसायीक रुपमा तालिम लिएर बनाउन थालिएको पहिलो पटक भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ घरको काम सकेपछि फुर्सदको समयलाई सदुपयोग गर्दै दुना टपरी बनाउने योजना छ । पहिलो पटक व्यवसायीक रुपमा दुना टपरीको उत्पादन सुरु गरेको छौ ।’
मधुवन नगरपालिका, ६ का वडा अध्यक्ष चन्द्रसिंह गुरुङले महिला समूहले सुरु गरेको दुना टपरी उद्योगको लागि पर्ने सहयोगका लागि वडा कार्यालय तयार रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ दुना टपरी उद्योग सञ्चालनका लागि लिनु भएको तालिमले आत्मनिर्भर हुने बाटो खुलेको छ । अब दुना टपरी उत्पादन सुरु गरेर आत्मनिर्भर बन्नुहोस् । वडा तपाईँहरूको साथमा छ ।’
परियोजना युरोपियन युनियन र अष्ट्रियन डेभलपमेन्ट कोअपरेसनको आर्थिक सहयोगमा, आड्रा नेपालको नेतृत्वमा, एन्साब नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ( फेकोफन ) र भेरी वातावरणीय विशिष्टता समूह ( बी–गुरुप ) बाँकेको सहकार्यमा सञ्चालन भएको हो ।


