
प्रकाश पौडेल, गुलरिया । ब्याडमिन्टन खेल्न गएका खेलाडीलाई राजापुर नगरपालिकाका प्रमुख दिपेश थारूले दुव्र्यवहार गरी कभर्ड हलबाट निकालेका छन्। राजापुर नगरपालिका– ५ कौवा बजारमा रहेको कभर्ड हलमा ब्याडमिन्टन खेल्न गएका खेलाडीलाई नगरप्रमुख थारूले दुव्र्यवहार गरी कभर्ड हलबाट निकालेका हुन्।
असोज ४ गते साँझ स्थानीय खेलाडीको बीचमा मैत्रीपूर्ण खेल भइरहेको समयमा नगरप्रमुख आएर खेलाडीलाई दुर्व्यवहार गरेको थिए। सो घटनाको विरोधमा भौराटप्पा ब्याडमिन्टन ग्रुप राजापुरले १३ असोजमा प्रेस विज्ञप्ति निकालेको हो।

खेलाडीहरूले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘कभर्ड हलमा खेल खेलिरहेका समयमा नगरप्रमुख सहितको टोली अचानक हलमा प्रवेश गर्यो। हलमा प्रवेश गरेका मध्ये केहीले मदिरा सेवन गरेर आएका थिए। र नगर प्रमुख स्वयम्ले अनुशासनविपरीत दुर्व्यवहार गर्दै हलबाट बाहिर जान भनी अपशब्द र गालीगलौज गरी जबरजस्ती कोर्टबाट बाहिर निष्कासित गरे।’
हलमा प्रवेश गरेकाहरूले ‘हतियार लिएर लखेट्नुपर्छ’ जस्ता उत्तेजक र धम्कीपूर्ण शब्दहरू प्रयोग गरेका विज्ञप्तिमा उल्लेख छ। कभर्ड हल नगरप्रमुख वा कसैको निजी सम्पत्ति नभएर नगरवासीको साझा सम्पती भएको उल्लेख गर्दै भनिएको छ, ‘खेलाडीहरूलाई अपमानजनक र धम्कीपूर्ण व्यवहार गर्नु पूर्ण रुपमा निन्दनीय र गैरकानुनी कार्य हो। मदिरा सेवन गरेर सार्वजनिक खेल पूर्वाधारमा यस्तो कार्य गर्नु नगर प्रमुखको मर्यादाविपरीतको घटना हो।’
असोज ४ गते साँझ दुर्व्यवहार भएपछि ब्याडमिन्टन खेलाडीहरू कभर्ड हलमा जान छाडेको छन्। नगरप्रमुखले सत्ता र शक्तिको दूरुपयोग गरी घरनजिक कभर्ड हल बनाएको भन्दै स्थानीय स्तरमा विरोधसमेत हुने गरेको थियो।



