
कृष्ण बहादुर विश्वकर्मा, गुलरिया । फूलले जसरी सुगन्ध फैलाउँछ, म पनि मेरो कामले गाउँमा परिवर्तनको सुगन्ध फैलाउन चाहन्छु भन्नुहुन्छ गुलरिया नगरपालिका, ३ खैरीको पार्वती थारू । पढाइसँगै मखमली फूल व्यवसायिक रुपमा उत्पादन गर्दै आउनु भएकी थारूलाई अचेल भ्याइ नभ्याई छ । आफ्नो पढाइसँगै व्यवसायिक फूल खेतीमा गर्दै आउनु भएकी थारू अहिले फूलबारीमा व्यस्त हुनुहुन्छ ।
थारूले एक बिगाहा जग्गामा फूल खेती गर्दै आउनु गर्नु भएको छ । भने फूलखेतीबाट आएको रकमले पढाइ खर्च जुटाउन सफल हुनु भएको छ । विद्यार्थी जीवनबाट नै फूलको खेती गरी आत्मनिर्भर समेत बन्नु भएको छ । र वर्षेनी भारत आउने प्लाष्टिकको माला रोक्न फूलको खेती गरेकी थारूको योगदान रहेको छ ।

थारूले फूल रोपेको ठाउँमा पहिले बदामको खेती हुने गरेको थियो । तर पछिल्लो समयमा थारूले बदाम खेतीको ठाउँमा मखमली फूल रोप्नु भयो । सो बारीमा बदाम खेती विस्थापित गरेर फूल खेती गर्नु भएको छ । यसरी फूलको व्यवसायिक उत्पादन गरेर तिहारमा हुने फूलको अभावलाई समेत कम गर्नु भएको छ । थारूले लगाएको फूल तिहारमा धेरैको गला र घरमा सजिन थालेको छ । सुरुमा सानो क्षेत्रफलमा सुरु गरिएको फूल खेती अहिले व्यापारिक रूपमा फैलिँदै गएको छ । पार्वतीले सयपत्री फूल र अन्य फूल समेत बारीमा रोप्नु भएको छ । उहाँले उत्पादन गरेका फूलहरू गुलरिया, नेपालगञ्ज, बुटवल ,चितवन र काठमाडौँसम्म बिक्रीका लागि जाने गरेको छ ।
स्नातक तहमा कृषि विज्ञान पढ्नु भएकी थारूले पढाइसँगै समय सदुपयोग गर्ने उद्देश्यले चार वर्षअघि फूल खेती सुरु गर्नु भएको थियो । ‘ सुरुमा घर सजाउनमा लागि केही बोट रोपेको थिएँ । माग बढेपछि व्यवसायकै रूपमा फूल खेती गरे ।’ उहाँले भन्नुभयो, ‘ अहिले स्थानीय युवतीहरूलाई समेत फूल खेतीको काम सिक्न आउनु हुन्छ । पढाई सकेर अहिले यहीँ फूलखेतीलाई निरन्तरता दिएकी छु ।’

थारूको फूलबारीका अहिले हजारौको फूलहरू फुलेका छन् । अबको केही दिनमा थारूलाई काम झन बढ्ने छ । थारूले परिवार अचेत फूल टिप्ने, माला बनाउने र बजार पठाउने काममा व्यस्त हुन थाल्नु भएको छ । यसरी व्यवसायिक फूल खेती गर्दै आउनु भएकी थारूले फूल खेतीबाट राम्रै आम्दानी भएको छ ।
छोरीको कामबाट खुसी हुनु भएको पार्वतीको बुबा भन्नुहुन्छ, ‘छोरीले पढ्दै कमाउदै गरिन् । छोरीले फूलको व्यवसायिक खेती गरेपछि विभिन्न ठाउँबाट मान्छेहरू फूल किन्न र फूल हेर्न आउन थालेपछी छोरीको कामले गाउँका अन्य महिलाहरूलाई समेत हिम्मत र प्रेरणा मिलेको छ । पालिकाले पनि पार्वतीको कामलाई प्रसंशा गरेको छ । मेरी छोरीले जस्तै गाउँमा युवायुवतीले नयाँ योजना र सोचको बिकास गरी काम गर्ने सके गाउँमा रोजगारी सिर्जना हुने थियो । देश आत्मनिर्भर हुने बाटोमा अगाडी बढ्न् थियो ।’
फूल खेतीलाई प्रवद्र्धन गर्ने योजना सहित पालिकाले कार्यक्रम सञ्चालन गर्नुपर्ने पार्वती बताउनु हुन्छ । उहाँले बारीमा उत्पादन भएको फूल बिक्रीका लागि नेपालगञ्ज, बुटवल ,चितवनका केही फूल पसलहरूसँग सम्झौता गर्नु भएको छ । बारीमा फूलेका फूलहरू टिपेर बिक्री वितरणका लागि दैनिक रूपमा पठाइने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ पछिल्लो समयमा फूलको माग बढ्दै गइरहेको छ । फोन गरेर फूल राखिदिनु होला भनि भनी घरबाट लिएर जाने र अनलाइनको माध्यमबाट समेत फूल पठाउने गरेकी छु । आधुनिक प्रविधिको प्रयोग गर्न सके पनि घरमा बसीबसी बिक्री गर्न सकिन्छ । ’
हातमा सीप भएपछि काम गर्न सकिन्छ । काम गरेपछि आत्मनिर्भर समेत बन्न सकिन्छ । फूल खेतीबाट पार्वतीले आफूलाई चिनाउन समेत सफल हुनु भएको छ । र कयौँका लागि प्रेरणको स्रोत समेत बन्नु भएको छ । व्यवसायिक फूल खेती गर्दै आउनु भएकी थारूले अर्को वर्ष फूलको खेती बिस्तार गर्ने योजना बनाउनु भएको छ । पार्वतीको मेहनत र लगनले गरे सम्भव छ भन्ने सन्देश समेत दिन सफल हुनु भएको छ । आत्मनिर्भर बन्नका लागि पढाइ, सीप र मिहिनेतको संयोजनले गरी पार्वतीले घरमा बसी आर्थिक समृद्धिको बाटोमा पाइला अगाडी बढाउनु भएको छ ।


