
प्रकाश पौडेल, गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको हात्तीको स्वास्थ्य जाँच गर्नका लागि दुईदिने स्वास्थ्य शिविर गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको १४ वटा हात्तीको स्वास्थ्य जाँच गरिएको हो ।
स्वास्थ्य शिविरमा हात्तीको नङ काट्ने, रगत जाँच गर्ने, आँखा जाँच गर्ने गरिएको थियो । हात्तीको जाँच गर्नका लागि अमेरिकाबाट आएका पशु चिकित्सक, निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष चिकित्सक, पशु प्राविधिक टोलीद्वारा हात्तीको स्वास्थ्य परीक्षण गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेल बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निकुञ्जमा विभिन्न समयमा हात्तीहरूको स्वास्थ्य जाँच भइरहेको हुन्छ । निकुञ्जको संरक्षण र व्यवस्थापनमा हात्तीको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । हात्तीविना संरक्षणको काम गर्न कठिन हुन्छ । त्यही भएर पनि निकुञ्जमा हात्ती पाल्ने गरिएको छ । निकुञ्जमा रहेका सम्पूर्ण हात्तीको स्वास्थ्य जाँच गर्नका लागि प्रत्येक वर्ष यसरी बर्दियामा हात्तीको स्वास्थ्य शिविर हुने गरेको छ ।’

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा चितवनका भेटेरेनरी प्राविधिक किरणराज रिजालले बर्दियामा यसरी हात्तीको स्वास्थ्य शिविर भएको पाँचौँपटक भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ ‘बर्दियाबाट सुरु भएको हात्तीको स्वास्थ्य शिविर बाँके राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा पनि हुनेछ । स्वास्थ्य शिविरमा हात्तीको रगतको स्याम्पल लिएर जाँचका लागि चितवन लग्ने, हात्तीलाई जुकाको औषधि खुवाउने, टिटनास र रेबिजको भ्याक्सिन लगाइनेछ ।’
हात्तीको पनि मानिसको जस्तै नङ पलाउने हुन्छ । हात्तीको नङ बढ्दा हात्तीलाई हिँड्डुल गर्न गाह्रो हुन्छ । उनले त्यही स्वास्थ्य शिविरमा हात्तीको नङ काट्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ ‘हात्तीको पैतालाले शरीरको भार धान्नुपर्ने हुन्छ । तर, नङ बढ्दा हात्तीलाई असजिलो हुन्छ । त्यही भएर प्रत्येक वर्ष हात्तीको स्वास्थ्य जाँच गर्ने, नङ काट्ने काम गर्ने गरिएको छ ।’



