
कृष्णसार अनलाइन । सशस्त्र प्रहरी बल नेपालले बर्दियामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ४६८ जनाले स्वास्थ्य जाँच गरेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण सुरजपुरले बिहीबार गुलरिया नगरपालिका, को सीमावर्ती क्षेत्रमा निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरेको हो।
गुलरिया नगरपालिका, का वडाध्यक्ष लक्ष्मीनारायण लोधले शिविरमा स्थानीयको उल्लेखनीय सहभागिता रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आँखा, कान, दाँतसम्बन्धी समस्या भएका स्थानीय घरआँगनमा सेवा पाउँदा खुसी भए। सशस्त्र प्रहरीले यसरी स्वास्थ्य शिविर राखेर स्थानीयलाई सहयोग गरिरहेकोमा स्थानीय निकै खुसी छन्।’

सशस्त्र प्रहरी बल नेपालका एसपी मानबहादुर शाहीले शिविरमा २३९ जनाले आँखा, ११८ जनाले कान, ८१ जना दाँत र ३० जनाले सामान्य स्वास्थ्य जाँच गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘शिविरमा जाँच गर्नुका साथै बिरामीलाई औषधि पनि निःशुल्क वितरण गरिएको थियो।’
सशस्त्र प्रहरी बल नेपालले दीप डेन्टल क्लिनिक, नेपालगन्ज आँखा अस्पताल प्रालि र फेको एन्ड रेटिना सर्जिकल सेन्टरसँग सहकार्य गरी शिविर आयोजना गरेको हो।


