
दलबहादुर सुनार, बढैयाताल । बर्दियाको गुलरियामा बिहीवार सम्पन्न अपाङ्गता पहिचान तथा पुनर्स्थापना घुम्ती शिविरमा ७२ जना बालबालिका लाभान्वित भएका छन् । एकै ठाउँबाट बहुआयामिक पुनस्थापना सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन भएको शिविरमा स्वास्थ्य परीक्षण, पुनस्थापना सहित विविध सेवावाट शारीरिक अपाङ्गता भएका ७२ बालबालिका लाभान्वित भएका हुन् ।
शिविरमा ५४ बालक र १८ बालिका गरी कुल ७२ जना बालबालिकाले स्वास्थ्य परीक्षण गराएका थिए । पुनस्थापना केन्द्र कोहलपुरका अनुसार, शिविरमा ४४ बालक र १४ बालिका गरी ५८ जनाको अनुगमन ( फलोअप ) गरिएको थियो ।

शिविरमा ८ बालक र ४ बालिका गरी १२ जना नयाँ अपाङ्गता पहिचान भएका छन् । भने २ जना युवाको पनि स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा सहभागी मध्ये ३६ बालक र ११ बालिका गरी ४७ जनाले फिजियोथेरापी सेवा लिएका थिए ।

त्यसैगरी १४ बालक र ३ बालिका गरी १७ जनाको अर्थोपेडिक सहायक सामग्री नापजाँच गरिएको थियो । साथै, १ जनालाई वाकर र ३ बालकलाई विशेष जुत्ता प्रदान गरिएको छ । सीबीएम नेपालको साझेदारीमा सञ्चालित शिविरमा डाक्टर निरञ्जन थापा सहित फिजियोथेरापिस्ट, फर्मासिस्टको, कृत्रिम अंग तथा सहायक सामग्री प्राविधिक, र परामर्शदाताको टोलीले सेवा प्रदान गरिएको बर्दिया अपांग पुनस्थापना केन्द्रका अध्यक्ष नेत्र प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
लुम्बिनी प्रादेशिक पुनस्थापना केन्द्र, कोहलपुर बाँकेका प्रशासन तथा लेखा सहायक मिन बहादुर चन्दका अनुसार अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपा, लुम्बिनी प्रादेशिक पुनस्थापना केन्द्र कोहलपुर, बाँके , गुलरिया नगरपालिकाको सहआयोजना र बर्दिया अपांग पुनस्थापना केन्द्रको समन्वयमा गुलरिया नगरपालिका–६ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन भएको थियो ।।


