
प्रकाश पौडेल, गुलरिया । बर्दियाको राजापुर र गेरुवा गाउँपालिका जोड्ने २७ किलोमिटर सडक अलपत्र परेको छ । पूर्वऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ ( कान्छाराम ) र नेपाली काँग्रेस डडेलधुराका पार्टी सभापति भीम साउदले पाएको सडक निर्माणको काम अलपत्र परेको हो ।
कान्छाराम, राजेन्द्र जेभीको लापरबाहीले गेरुवा गाउँपालिकाको सबैभन्दा लामो र महत्वपूर्ण सडक अलपत्र परेको हो । गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले ठेकेदारले ढिलासुस्ती गर्दा स्थानीयले समस्या भोग्नुपरेको बताउनु भयो । ‘यो पालिकाको सबैभन्दा ठुलो र महत्वपूर्ण सडक हो । यो सडक गेरुवाको पर्यटकीय क्षेत्र इन्टेकसँग जोडिन्छ । तर, निर्माण कम्पनीले समयमा काम नगर्दा समस्या भएको छ,’ उहाँले भन्नुभयो, ‘सडक निर्माणको काम समयमा सम्पन्न गराउन दुईपटक कार्यपालिकाको बैठकबाट निर्णय गरी हुलाकी सडकको कार्यालय र मन्त्रालयसम्म पत्राचार गरेका छौँ । तर, अहिलेसम्म सडक निर्माणको काम हुन सकेको छैन ।’

उक्त सडक निर्माणका लागि ४ चैत ०७७ मा निर्माण कम्पनीले ५३ करोड १२ लाख ६१ हजारमा सम्झौता गरेको हुलाकी राजमार्ग योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले बताउनु भयो । ३० महिनामा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि काम नभएपछि २३ महिना म्याद थप गरिएको उहाँको भनाइ रहेको छ ।
उहाँले भन्नुभयो, ‘तोकिएको समयमा निर्माण कम्पनीले काम गर्न नसकेपछि १ वैशाख ०८१ मा २३ महिनाका लागि म्याद थप भएको छ । निर्माण कम्पनीले ०८२ चैत २८ गते सडक निर्माणको काम सक्नुपर्छ ।’ पछिल्लो ५५ महिनामा ठेकेदारले गरेको कामको प्रगति हेर्दा तोकिएको मितिमा निर्माण सम्पन्न हुने देखिँदैन । निर्माण गरेको कामको प्रगति हेर्दा करिब ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका प्रमुख भण्डारीले जानकारी दिनभयो । उहाँले भन्नुभयो, ‘सडक निर्माणको कामलाई छिटो सम्पन्न गराउन निर्माण कम्पनीलाई पटक–पटक मौखिक र ३१ पटक पत्राचारसमेत गरेको छ ।’
कार्यालयले यसरी पटक–पटक मौखिक र लिखित रूपमा काम गर्न आग्रह गर्दासमेत निर्माण कम्पनीले अटेरी गरेको छ । सडक निर्माण गर्न राजापुर– १०, मंगलपुरमा क्रसर उद्योग पनि सञ्चालनमा रहेको योजनाको कार्यालयले जनाएको छ ।



