
कृष्णसार अनलाइन । मोटरसाइकल दुर्घटनामा परी बर्दियामा एक महिला मृत्यु भएको छ, भने दुईजना घाइते भएका छन्। मोटरसाइकलमा सवार कैलाली भजनी नगरपालिका –१ की अन्दाजी ३० वर्षीया सपना सुनारको मृत्यु भएको हो। यस्तै, मृतकका श्रीमान् मोटरसाइकलचालक ३६ वर्षीय चञ्चल सुनार र मृतककी छोरी ५ वर्षीया कृष्ण सुनार घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जनाएको छ।
गुलरिया– नेपालगन्ज सडक खण्डको गुलरिया –११ भादा नदी पारी बबुरको रुख नजिकै लडियामा ठोक्किएर मोटरसाइकल दुर्घटनामा परेको हो। सपनाको टाउको गम्भीर चोट लागेको थियो । उहाँको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब निरीक्षक राघवसिंह राठौरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सुनारको उपचारको क्रममा मृत्यु भएको हो। उनका श्रीमान् र छोरीको उपचार बर्दिया अस्पताल गुलरियामा भइरहेको छ। लडिया चालक गुलरिया नगरपालिका –५ बालापुरका ४५ वर्षीय कर्ण थारूलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय गुलरियामा राखिएको छ।’



