
कृष्णसार अनलाइन । बर्दियाको बाँसगढी नगरपालिकामा ज्येष्ठ नागरिक, अपाङ्गता, गरिब तथा विपन्न नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ । बाँसगढी नगरपालिकाको आयोजना र क्लोथ एण्ड फुड बैकको सहकार्यमा ज्येष्ठ नागरिक, अपाङ्गता, गरिब तथा विपन्न नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको हो ।
स्थानीय तह नागरिकको सहज पहुँच पुग्ने सरकार पनि हो । स्थानीय तहसँग नागरिकका धेरै आशा र अपेक्षा पनि जोडिएको हुन्छ । गाँस, बाँस र कपासको व्यवस्थापन स्थानीय सरकारले गरिदिए हुन्थ्यो भन्ने नागरिकको अपेक्षा रहेको हुन्छ । सोही मध्ये एक अपेक्षा पुरा गर्न स्थानीय सरकारले मंगलबार पालिकाका ज्येष्ठ नागरिक, अपाङ्गता, गरिब तथा विपन्न नागरिकहरूलाई न्यानो कपडा वितरण गरेको थियो । मंगलबार पालिकाको आयोजना र क्लोथ एण्ड फुड बैकको सहकार्यमा करिब एक हजार कपडा विवरण गरिएको थियो ।

न्यानो कपडा वितरण कार्यक्रममा पालिकाका नगरप्रमुख खड्कबहादुर खड्काले न्यानो कपडा नहुने नागरिकका लागि कपडा वितरण कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ पालिकाभित्रको ४, ५ र ६ नम्बर वडामा सुरुवात भएको कार्यक्रम अन्य वडामा पनि गर्ने लक्ष्य रहेको छ । सोही अनुरूप तयारी समेत हुँदै छ ।’
बर्दियामा पहिलो पटक पालिकाको पहल यसरी न्यानो कपडा वितरण गर्ने र कपडा बैँक राख्ने काम भएको क्लोथ एण्ड फुड बैँकका अध्यक्ष कमल जिसीले जानकारी दिए । उनले भने, ‘ बाँके बर्दियामा पहिलो कपडा बैँक स्थापना गर्ने पालिका बाँसगढी नगरपालिका हो ।’


