
प्रकाश पौडेल गुलरिया । बर्दियामा सरकारले तोकेको समर्थन मूल्यमा धान बेच्न किसानलाई सकस हुने गरेको छ । किसानले उत्पादन गरेको धान बेच्न दिउँसो मात्र नभएर रातभर लाइन लाग्नुपर्ने बाध्यता रहेको छ ।
धान बेच्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयमा रातभर लाइन बस्दा पनि पालो नआएको राजापुर नगरपालिका, ७ की ५३ वर्षीया राजकुमारी थारूले बताउनु भयो । आफूसँग भएको करिब २० क्विन्टल धान बेच्नका लागि आइतबार रातिभर र सोमबार दिनभरी लाइन बस्दा पनि पालो नआएको दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, ‘ मंसिर २८ गते राती धान बेच्नका लागि टोकन लिन जाने किसान ३ सय भन्दा बढी रहेका थिए । रातभर पालो पर्खिंदा पालो नआएपछि दिउँसो पनि पालो पर्खिएर बस्यौ । आज पालो नआएकोले कम्पनीका कर्मचारीले भोलि मंसिर २९ बोलाएका छन् । भोलि पनि पालो आउने हो की नआउने थाहा छैन् ।’

धान बेच्नका पटक पटक खाद्यको कार्यालयमा जाँदा पालो नआएपछि बाहिर सस्तो मूल्यमा धान बेच्न परेको राजापुर नगरपालिका, ७ की ५५ वर्षीया गौरी थारूले भन्नुभयो । सरकारले तोकेको मूल्यमा धान बेच्नका लागि कात्तिक २७, २८ तथा २९ गते मंसिरको ३, र ४ गतेसम्म गए । तर पालो नआएपछि बाहिर साहुकोमा प्रति क्विन्टल २८ सयको दरको २५ क्विन्टल धान बेचेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘ धान बेच्नका मंसिर २ गते बिहान ३ बजेदेखि नै लाइन बसे तर पालो आएन । त्यसपछि कार्यालयले मंसिर ४ गते बोलायो त्यसदिन पनि बिहान ३ बजेबाट लाइनमा बसे, पालो आएन । यसरी पालो कुर्दा लाइन बस्नु पर्दा डाढ दुख्ने भयो र भोकै बस्दा बिरामी पनि भए । त्यसपछि गाउँमा नै सस्तो मूल्यमा धान बेचे ।’
खाद्य संस्थाले पनि धान खरिद गर्दा पहुँचवालाकै धान खरिद गर्ने गरेको थारूले आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘ खाद्यले धान खरिद गर्दा पँहुचवाला कै धान खरिद गर्न थालेपछी स्थानीयले विरोध गरेर टोकन स्टिम लागू गर्नुपर्छ भन्दै मंसिर ४ गते कार्यालयमा ताला पनि लगाए ।’
सरकारले एकातिर धानको मूल्य तोकेको छ, भने अर्को धान खरिद गर्नका लागि कोटा निर्धारण गर्ने गरेको छ । सरकारले दोहोरो चरित्रले किसानलाई धान बेच्न सकस भएको छ । बर्दियामा गत आर्थिक वर्ष २०८१/०८२ मा २३ लाख ३१ हजार ९ सय ९५ क्विन्टल धान उत्पादन भएको कार्यालयको तथ्याङ्क रहेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय सूचना अधिकारी फिर्तुमान चौधरीले जानकारी दिनुभयो ।
वर्षेनी लाखौ क्विन्टल धान उत्पादन भएको भएपनि सरकारले गत वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई एक लाख क्विन्टल धान खरिदको लागि अनुमति दिएको थियो । तर कम्पनीले ३७ हजार ९ सय क्विन्टल धान खरिद गरेको कम्पनीका सूचना अधिकारी चेतमान कडायतले बताए । गत वर्ष कोटा अनुसार किसानको बिक्री हुन सकेन, जसले गर्दा धान यस वर्ष सरकारले धानको घटाएको छ ।

सूचना अधिकारी कडायतले सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ मा २५ हजार क्विन्टल मोटा धान र ५ हजार मसिना धान खरिदको लागि अनुमति दिएको छ । भने अब ३१५० क्विन्टल धान खरिद गर्न बाँकी रहेको बताउनु भयो ।
बजारमा मोटा धान प्रति क्विन्टल २५ सय रुपैयाँदेखि २८ सय रुपैयाँ र मध्यम धान प्रति क्विन्टल २८ सय रुपैयाँदेखि ३ हजार रुपैयाँका दरले बिक्रीवितरण हुँदा समेत कुनै निकायले अनुगमन गरेको छैन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रमुख कमल राज पाण्डेले उत्पादन अनुसार धान खरिद गर्न नसक्दा पनि समस्या आएको बताउनु भयो । ‘ कोटा अनुसार धान खरिद गर्न बाँकी रहेको ३ हजार १ सय ५० क्विन्टल धान खरिद गर्नका लागि १०५ वटा कुपन बाडिएको छ ।’ उहाँले भन्नुभयो, ‘ स्थानीय आरोप लगाएको जस्तो धान खरिद गर्दा कसैलाई भेदभाव गरिएको छैन् । उत्पादन बढी र खरिदका लागि कोटा कम हुँदा यस्तो समस्या भएको हो ।’
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बर्दियाका ८ वटै स्थानीय तहमा सरकारले तोकेको मूल्यमा धान खरिद गर्न कोटा निधारण गरको थियौ । गेरुवा गाउँपालिकामा चार हजार ६ सय क्विन्टल तथा गुलरिया, बारबर्दिया, मधुवन, बासगढी र ठाकुरबाबा नगरपालिकामा तीन तीन हजार क्विन्टल धान खरिद गरिएको थियो । भने बाँकी बचेको कोटा अनुसारको धान कार्यालयबाट खरिद गरिएको जानकारी दिनुभयो । ‘किसान माग अनुसार धान खरिद गर्न नसक्दा कार्यालय तालाबन्दी समेत भएको थियो ।’ उहाँले भन्नुभयो, ‘ कार्यालयलाई निश्चित कोटा तोकिएको छ । भने गत वर्षको धान गोदाममा रहेको हुँदा थप धान राख्न पनि समस्या भएको छ । गोदाम अहिले पनि २५ हजार क्विन्टल चामल र २० हजार क्विन्टल धान बाँकी छ ।’
बर्दियामा उत्पादन गएको कुल उत्पादनको १.२९ प्रतिशत मात्र धान खरिदको लागि बजेट व्यवस्थापन गरेको छ । जसले अधिकांश धान किसानले सस्तोमा बेच्न बाध्य रहेको छन् । सरकार यस वर्ष मोटा धानको समर्थन ३ हजार ४ सय ६३ रुपैया र मध्यम धानको मूल्य ३ हजार ६ सय ३८ रुपैयाँ तोकेको छ ।


