
कृष्णसार अनलाइन । बर्दियामा किशोरकिशोरीलाई स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य चौकी भित्र किशोर किशोरी मैत्री भवन निर्माण गरिएको छ । गुलरिया नगरपालिका र मधुवन नगरपालिकामा किशोरकिशोरीलाई स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य चौकी भित्र किशोर किशोरी मैत्री भवन निर्माण गरिएको हो ।
नवनिर्मित भवनबाट किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । भवन बनाउनका लागि कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) को आर्थिक सहयोग , प्लान ईन्टरनेशनल नेपाल र राधाकृष्ण थारू जनसेवा केन्द्रको साझेदारीमा भवन निर्माण गरिएको हो ।

किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार दोस्रो चरणको परियोजना अन्तर्गत मधुवन नगरपालिकाको वडा, १ मा अवस्थित सूर्यपटुवा स्वास्थ्य चौकी र गुलरिया नगरपालिकाको वडा नं. ९ मा अवस्थित मथुरा स्वास्थ्य चौकीमा नयाँ भवन निर्माण गरिएको राधाकृष्ण थारू जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।
उहाँले भन्नुभयो, ‘ भवन बनेपछि किशोर किशोरीलाई एकद्वार प्रणालीबाट सेवा प्रदान गर्न सकिन्छ । नवनिर्मित भवनबाट मधुवन नगरपालिकाको वडा नम्बर १ र २ र गुलरिया नगरपालिकाका वडा नम्बर ८, ९ र १० का किशोरकिशोरीहरूलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।’
मधुवन नगरप्रमुख तेजबहादुर भाटले स्वास्थ्य सेवा प्रदान उद्देश्यले भवन निर्माण भएसँगै किशोरकिशोरीहरुको स्वास्थ्य समस्या राख्न र स्वास्थ्यमा सकारात्मक आउने बताउनु भयो । उहाँले किशोर किशोरीलाई परामर्श लिनका संस्था गरेको लगानी महत्त्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो ।
गुलरिया नगर प्रमुख मुक्तिनाथ यादवले पछाडि परेको मधेशी समुदायका किशोरकिशोरीहरूलाई सेवा लिन किशोर किशोरी मैत्री भवन महत्वपूर्ण हुने बताउनु भयो ।
प्लान ईन्टरनेशनल नेपालका निर्देशक जुलीले स्वास्थ्य सेवा भवनबाट धेरै भन्दा धेरै किशोरकिशोरीहरूले गोपनीयता र आत्मसम्मानका साथ सेवा लिन पाउने र यसले निरन्तरता पाई रहनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।
मधुवन नगरपालिकाको सूर्यपटुवा स्वास्थ्य चौकीमा ४३ लाख ५६ हजार ३८० रुपैयाँको लागतमा र गुलरिया नगरपालिकामा मथुराहरद्वार स्वास्थ्य चौकीको लागि रु ४५ लाख २७ हजार ८०३ रुपैयाँको लागतमा भवन निर्माण भएको थियो । स्वास्थ्य चौकिलाई रु ८ लाख १७ हजार रुपैयाँको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक पर्ने सामाग्री वितरण गरिएको थियो ।


