
कृृष्णसार अनलाइन । बर्दियामा चितुवाको त्रास बढेपछि स्थानीयले सामुदायिक वनको झाडी कटानको काम थालेका छन् । चितुवाकाे उच्च जोखिम रहेको बारबर्दिया र गुलरिया नगरपालिकाका स्थानीयले सामुदायिक वनको झाडी कटानको काम गर्न थालेका हुन् ।
चितुवाको वासस्थान भएको र पर्याप्त मात्रामा आहारा प्रजाति पाइने सामुदायिक वन कटान भएपछि आहारा र सुरक्षित वासस्थानको खोजीमा चितुवा गुलरिया र बारबर्दिया नगरपालिकाको सामुदायिक वनमा बस्न थालेको छ । चितुवाले घाँसदाउराका लागि वनमा जाने मानिसलाई आक्रमण गरेर मार्ने र घाइते बनाउन थालेको छ ।

पहिला वनमा घाँस–दाउराका लागि जाँदा एक्लाएक्लै जाने र वनमा जाँदा कसरी सुरक्षाको उपाय अपनाउने भन्ने थाहा नपाएका स्थानीयले चितुवाकाे आक्रमणबाट ज्यान गुमाउनुपरेको छ। लुम्बिनी प्रदेशको वस्तुगत विवरणमा राष्ट्रिय जनगणना २०७८ अनुसार बर्दियामा ६३.५३ घरधुरी ऊर्जाका लागि दाउरामा निर्भर भएको पाइन्छ । दाउराको मुख्य स्रोत वन भएको हुँदा स्थानीयलाई वनमा जानुपर्ने बाध्यता छ ।
त्यही बाध्यताले गर्दा घाँस–दाउराका लागि वनमा गएका पाँचजनालाई चितुवाले आक्रमण गरी मारेको छ । त्यसैगरी एकजना बालिकालाई चितुवाले शौचालयबाट लगेर मारेको छ भने एकजना महिला धान गोड्न गएको वेला चितुवाले आक्रमण गरी मारेको थियो । चितुवाले बारबर्दिया र गुलरिया नगरपालिकामा नाै महिनामा सातजनालाई मारेको छ ।
कहिल्यै चितुवा देखा नपरेको गुलरिया नगरपालिकाको ४, ५, ८ र १२ नम्बर वडामा र बारबर्दियामा नगरपालिकाको १० र ११ नम्बर वडामा चितुवाले आक्रमण गरेर मानिस मार्ने र घाइते बनाएको छ । दिनहुुँ जस्तो गाउँमा चितुवा आउन थालेपछी स्थानीयहरू त्रसित बन्दै गएका छन् ।
चितुवाले मानिसलाई आक्रमण गर्नुका साथै घरपालुवा जनावर मारेर खान थालेपछी स्थानीयहरू डरत्रासमा बाँच्नुपरेको गुलरिया नगरपालिका– १२ ठुलाे बिक्रीका ३८ वर्षीय चन्द्रलाल थारूले बताउनु भयो । उहाँले भन्नुभयो, ‘जंगलसँग जोडिएको बस्ती छ, प्रायः सबैको घरमा शौचालय बाहिर छ । राति दिसापिसाब गर्न शौचालय जानसमेत डर हुन्छ । कम्तीमा बत्तीको व्यवस्थापन गर्न सकेमा घरबाहिर निस्किँदा टाढासम्म देख्न सकिन्छ । चितुवाको आक्रमणको जोखिम कम हुन्छ । अनि यसरी मान्छे मारेर खाने चितुवालाई छिटोभन्दा छिटो पक्रेर लैजानुपर्छ ।’
गुलरिया – १२, ठुलो बिक्री गाउँका बडघर पीताम्बर चौधरीले भवानी सामुदायिक वनमा पुस ८ गतेबाट बनभित्र रहेको साना झाडी सरसफाइको काम सुरु गरिएकोबताउनु भयो । उहाँले भन्नुभयो, ‘एक वर्ष अगाडिबाट कहिलेकाहीँ चितुवा देखिन्थ्यो, तर अचेल दिनहुुँ जस्तो बस्तीमा आउन थाकेको छ । चितुवाले बंगुर, खसी बाख्रा खान थालेको छ । चितुवाले मान्छे मार्ने र घाइते बनाउन थालेपछी स्थानीय पनि त्रसित छन् ।’



