
प्रकाश पौडेल, गुलरिया । बबई नदीमा तटबन्ध निर्माणको काम सुरु भएपछि स्थानीयहरू खुसी भएका छन् । गुलरिया नगरपालिका, ५ बालापुरमा तटबन्ध निर्माणको काम सुरु भएपछि स्थानीयहरू खुसी भएका हुन ।
विगतमा दिनमा तटबन्ध निर्माण कामले गति लिन नसक्दा स्थानीयहरू निराश भएका थिए । तर अहिले तटबन्ध निर्माण कामले गति लिएसँगै स्थानीयहरू समेत खुशी भएका छन् ।

बबई नदीमा पानीको सतह बढेसँगै गाउँ कति बेला बाढी पस्छ भन्ने त्रास हुन्थ्यो, तर अहिले तटबन्ध निर्माणको कामले गति लिएसँगै अब सुरक्षित भइन्छ भन्ने लागेको स्थानीय सन्तोष चौधरी बताए । उनले भने, ‘ बालापुर गाउँ बबई नदी किनारमा छ । जसले गर्दा वर्षेनी नदीमा आउने बाढीले खेतबारी कटान गर्ने र गाउँमा बाढी पस्ने समस्या थियो । तर अब तटबन्ध निर्माण भएपछि नदिले खेतबारी कटानको समस्या रोकिन्छ भन्ने लागेको छ ।’
कृषिलाई मुख्य पेशा बनाएर तरकारी खेती गर्दै आएका बालापुरमा हरिबहादुर चौधरीले आफ्नो खेत नदी किनारमा भएको हुँदा बर्खायाममा बबई नदीबाट आउने बाढीले तरकारी बारीमा क्षेत्री पुर्याउनु गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ बाढीले धेरैको जग्गा कटान गरेर खेतबारी नदी र बगर भएको छ । तटबन्ध निर्माणका भएपछि कम्तिमा जग्गा सुरक्षित हुने भयो ।’
गुलरिया नगरपालिका , ५ बालापुरका दिनेश कुमार चौधरीले बर्खायाम सुरु भएपछि गाउँ कति बेला बाढी पस्ने हो भन्ने त्रासबाट अब मुक्त भएको बताउनु भयो । उहाँले भन्नुभयो,
‘बाढी आएपछि धनजनको सुरक्षा गर्ने कि आफू सुरक्षित हुने भन्ने हुन्थ्यो । तर अहिले तटबन्ध निर्माण भएपछि केही राहत होला भन्ने लागेको छ ।’
गुलरिया नगरपालिका, २ संगमबस्ती देखि गुलरिया १० लटकनियासम्मको करिब ७० प्रतिशत भूभागमा तटबन्ध निर्माण भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरका प्रमुख सुदिन मोक्तान बताउनु भयो । उहाँले भन्नुभयो, ‘ पहिला बबई भादा ओरही नदी व्यवस्थापन आयोजनाले तटबन्ध निर्माणको काम गरिरहेको थियो । बबई भादा ओरही नदी व्यवस्थापन कार्यालय डडेल्धुरा सरेपछि अहिले सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरले तटबन्ध निर्माणको काम हेरिरहेको छ
।’
गुलरिया नगरपालिका , ५ बालापुर साइडको बबई नदीमा तटबन्ध निर्माणको काम अमन मेदान्त जेभिले ६ करोड ५९ लाख ७ हजार ४०७ रुपैयाँमा प्राप्त गरेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरका सूचना अधिकारी इन्जिनियर सञ्चित कुमार साहले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ निर्माण कम्पनीले तटबन्ध निर्माणको लागि ०८२ बैशाख २२ गते सम्झौता गरेको थियो । तटबन्ध निर्माणको कामको प्रगति हेदाँ अहिलेसम्म ४० प्रतिशत भएको छ । भने तटबन्ध निर्माणको काम ०८३ असार १५ गतेसम्म सक्नु पर्नेछ । निर्माण कम्पनीले करिब ५ सय मिटर तटबन्ध निर्माण पर्नुपर्नेछ । भने तटबन्ध निर्माण गर्दा १२ मिटरको लन्चिङ र स्लोप रिभेटमेन्ट बनाउनु पर्नेछ ।’
२०७१ साल र २०७४ सालमा आएको बाढीले गुलरिया नगरपालिकाको अंधिकाश भूभाग बाढी आएको थियो ।भने करोडौंको धनजनको क्षेत्रि भएको थियो । त्यस बेला आएको बाढीले धेरैलाई घरबार विहीन बनाएको थियो ।भने नदी तटीय क्षेत्रमा बसोबास गर्ने व्यक्तिको जग्गा समेत कटान भएको थियो । त्यसपछि बबई नदीमा तटबन्ध निर्माणको काम सुरु भएको थियो ।


