बर्दिया (गुलरिया) । बलात्कार मुद्दामा अदालतले पाँच बर्ष कैद तोकेका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका वडा नं. ६ बस्ने ईब्रार भन्ने ईबरार अहमद मनिहार रहेका छन् ।
उनलाई २०७७ माघ २६ गते उच्च अदालत तुल्सीपुर नेपालगंज इजलाले करणी मुद्दामा पाँच बर्षको कैद सजाय सुनाएको थियो । परिवर्तित नामथर ६६ (एफ) को जाहेरीमा जबरजस्ती करणी मुद्दामा उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासले ५ बर्ष कैद सजाय तोकेपछि मनियार फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार फरार रहेका मनियारलाई नगरपालिका वडा नं.६ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको बताउनु भयो ।
पक्राउ परेका मनियारलाई आवश्यक कारवाहीको लागि बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको र अदालतको आदेशले उनलाई बर्दिया कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो ।