
कृष्णसार अनलाइन । बर्दियाको बढैयाताल गाउँपालिका( ८ कण्ठपुरमा रहेको विद्याज्योति नमुना माध्यमिक विद्यालयले स्वर्ण उत्सव सञ्चालन गर्दा भएकोआम्दानी र खर्च सार्वजनिक गरेको छ ।
विद्यालयले पुस ४ गतेदेखि १६ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै स्वर्ण उत्सव सञ्चालन गरेको थियो । विद्यालयले स्वर्ण उत्सव सञ्चालन गर्नका लागि आवश्यक पर्ने रकम संकलन गर्न अभिभावक, पूर्वविद्यार्थी र चन्दादातासँग सहयोगका लागि अपिल गरेको थियो । स्वर्ण उत्सवका लागि भन्दै ८० लाख १२ लाख २९३ रुपैयाँ रकम सहयोग संकलन भएको थियो ।

विद्यालयमा अक्षयकोष स्थापनाका लागि ४५ जना सहयोगीदाताबाट ६० लाख ४९ हजार १८८ रुपैयाँ संकलन भएको विद्यालयले जनाएको छ । अहिले विद्यालयको अक्षयकोषमा ६६ लाख ३९३ रुपैयाँ रकम रहेको छ ।
विद्यालयले महोत्सव सञ्चालनका लागि १८ लाख ८८५ रुपैयाँ र उत्सवमा क्रियाकलाप सञ्चालन एक लाख ६२ हजार २२० रुपैयाँ संकलन भएको विद्यालयका प्रधानाध्यापक भक्तिसागर रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘महोत्सव सञ्चालन गर्नका लागि जम्मा भएको १९ लाख ६३ हजार १०५ रुपैयाँमध्ये स्वर्ण उत्सवमा ११ लाख ६४ हजार ८४३ रुपैयाँ खर्च भएको छ भने संकलन भएकोमध्ये सात लाख ९८ हजार २६२ रुपैयाँ रकम बचत भएको छ ।’
बढैयाताल गाउँपालिका– ८ का वडाध्यक्ष तेजनाथ पौडेलले विद्यालयको स्वर्ण उत्सव सफल बनाउन सहयोगीदाताहरूको सहयोगमा महत्त्वपूर्ण भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘विद्यालयको स्वर्ण उत्सव सफल बनाउन अभिभावकको सहयोग रह्यो । अब विद्यालयले शिक्षाको गुणस्तर सुधार गर्नका लागि योगदान गर्नुपर्छ । त्यसका लागि विद्यालय योजना बनाएर काम गर्नुपर्छ । त्यसका लागि विद्यालय आगामी दिनमा अभिभावकको विश्वास जितेर काम गर्ने गरी काम गर्न जरुरी रहेको छ ।’
आय–व्यय सार्वजनिक कार्यक्रममा विद्यालयले उत्सव सफल बनाउन योगदान गर्ने व्यक्तिहरूलाई धन्यवाद व्यक्तसमेत गरेको थियो ।



