
प्रकाश पौडेल , गुलरिया । बर्दियामा पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पी.भी खोप लगाउने तयारी गरिएको छ । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार ४ हजार ७ सय जना बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पी.भी खोप लगाउने तयारी गरिएको हो ।
नेपालमा दैनिक पाठेघरको क्यान्सरको कारणको दिनहुुँ जस्तो ४ जनाको मृत्यु हुने गरेको छ । क्यान्सरको कारण हुने मृत्युलाई रोकथाम गर्नका लागि सरकारले निःशुल्क क्यान्सर विरुद्धको खोप लगाउन सुरु गरेको छ ।

गत वर्ष २०८१/०८२ मा १० देखि १४ वर्षसम्मका कक्षा ६ देखि १० सम्म पढ्ने २० हजार ४ सय जना बालिकालाई एच.पी.भी खोप लगाइएको थियो । भने चालु आर्थिक वर्ष २०८२/०८३ मा ४ हजार ७ सय जना बालिकालाई माघ २५ गतेबाट खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य अधिकृत राजु खड्काले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘ पाठेघरको मुखमा हुने क्यान्सर रोक्न एच.पी.भी खोप महत्वपूर्ण हुने भएकोले यसलाई लगाउनु पर्छ । खोपको एक मात्रा डोज लगाए पुग्छ । एक पटक खोप लगाएपछि खोपले जीवनभर पुग्छ । त्यही भएर सरकारले खोप लगाउने अभियान चलाएको छ । ’
सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत निःशुल्क एच.पी.भी खोप प्रदान गर्दै आएको छ । अब जिल्लामा एच.पी.भी खोप प्रत्येक वर्ष कक्षा ६ मा पढ्ने बालिकालाई खोप लगाउने अभियान सञ्चालन हुनेछ ।


