
प्रकाश पौडेल, गुलरिया । बर्दियाको मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले चुनावी प्रचारप्रसार गर्दै हिँडेको पाइएको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार किशोरसिंह राठौरका लागि प्रमुख प्रशासकीय अधिकृत न्यौपाने मत माग्दै चुनावी प्रचारप्रसार हिँडेको पाइएको छ ।
आइतबार मधुवन नगरपालिका– ७ को प्रगति बजारनजिक नेपाली कांग्रेसको प्रचारप्रसार सम्पर्क कार्यालय स्थापनाको कार्यक्रममा भेला भएका स्थानीय प्रमुख प्रशासकीय अधिकृत न्यौपाने पार्टीको पक्षमा मत माग्दै गरेको भिडियो सार्वजनिक भएको छ ।

निजामती सेवाका कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ ले निजामती कर्मचारीले कुनै पनि राजनीतिक दल, तिनीहरूका भ्रातृ संगठन वा कुनै दलको समर्थन वा विरोधमा कुनै विचार व्यक्त गर्न वा त्यसको कसैलाई समर्थन वा विरोध गर्नका लागि प्रभावमा पार्न नहुने व्यवस्था छ ।
निर्वाचन आचारसंहितामा २०८२ मा सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना विकास समिति तथा सो कर्मचारीले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था रहेको छ । त्यसैगरी कर्मचारीले सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश सूचना प्रचारप्रसार सामग्री पोस्ट वा सेयर गर्न वा प्रतिक्रिया दिन वा सामाजिक सञ्जालमा मत माग्न नहुने व्यवस्था छ ।
अनुगमनकर्ता सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले निर्वाचनमा कुनै पनि कर्मचारीले कुनै पनि दल र उम्मेदवारको प्रचारप्रसार गर्न नहुने बताउनु भयो। उनले निर्वाचनमा कुनै उम्मेदवारले पार्टी र उम्मेदवारको प्रचारप्रसार गरेको पाइएमा, लिखित वा मौखिक उजुरी आएमा निर्वाचनको आचारसंहितामा उल्लंघन हुने र यस्तो गरेमा निर्वाचन आयोगमा कारबाहीका लागि सिफारिस गरिने जानकारी दिनुभयो ।
तर, न्यौपानेले निजामती सेवाका कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ र निर्वाचन आचारसंहितामा २०८२ उल्लंघन गरेर उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्दै हिँडेका छन् ।


