
प्रकाश पौडेल, गुलरिया । बर्दियाको बाँसगढी नगरपालिकामा रहेको नगर अस्पतालको भवन निर्माणको काम करिब ५ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीले समयमा काम नगर्दा नगर अस्पतालको भवन निर्माणको काम चार वर्ष १० महिनादेखि अलपत्र अवस्थामा रहेको छ ।
महालक्ष्मी जय धनञ्जय जेभिले अस्पतालमा निर्माणको २०७८ बैशाख ३१ गते निर्माणको जिम्मा पाएको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले अस्पतालको भवन निर्माणको काम २०७९ साल बैशाख ३० गते सक्नुपर्ने थियो । तर निर्माण कम्पनीले सम्झौता अनुसार समयमा काम नगरेर अहिलेसम्म आयोजनाको म्याद ३ पटक म्याद थप भएको छ । अन्तिम पटकको सम्झौता अनुसार निर्माण कम्पनीले २०८२ पुष ३० गतेसम्म भवन निर्माणको काम गरिसक्नुपर्ने थियो । तर निर्माण कम्पनीले तेस्रो पटक थप भएको अवधीमा पनि निर्माण कार्य सम्पन्न गर्न सकेको छैन् ।

निर्माण कम्पनीले अहिलेसम्म करिब ८० प्रतिशत भौतिक निर्माणको काम सम्पन्न गरेको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ कार्यालयले निर्माण कम्पनीलाई समयमा काम गराउनका लागि कार्यालय पटक पटक ताकेता समेत गरेको छ । तर निर्माण कम्पनीको ढिलाइले गर्दा अस्पतालको भवन निर्माणको काम सम्पन्न हुन सकेको छैन् ।’
निर्माण कम्पनीले अस्पतालको भवनको लागि भएका जग्गा विवाद, जग्गाको अभाव, काम गरे अनुसार समयमा भुक्तानी नहुँदा पनि अस्पतालको भवन निर्माणको ढिलाई भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ सरकारले काम गरे अनुसार समयमा भुक्तानी समयमा दिदैनन् । अस्पतालमा जडान गर्नु पर्ने लिफ्ट लगायत सामान बजार सजिलै नपाइने भएको हुँदा पनि अस्पतालको भवन निर्माणको काममा ढिलाइ भएको हो ।’ अस्पतालको भवन बनाउनका लागि आवश्यक पर्ने दक्ष जनशक्ति नपाउने समस्याले पनि अस्पतालमा काममा ढिला सुस्ती भएको निर्माण कम्पनी जानकारी दिनुभयो । निर्माण कम्पनीले अस्पतालको भवन निर्माणको ठेक्का २ ८ करोड ८५ लाख ८२ हजार रुपैयाँमा प्राप्त गरेको थियो ।
सार्वजनिक खरिद नियमावली २०७४ ले पूर्व निर्धारित समयमा काम नगर्ने आपूर्तिकर्ता, परामर्शदाता, सेवा प्रदायक वा निर्माण व्यवसायीलाई जरिवाना र ठेक्का रद गर्न सक्ने व्यवस्था समेत रहेको छ ।


