
कृष्णसार अनलाइन । बिरामीलाई जाँच गर्दागर्दै रगतको आवश्यकता परेपछि बर्दिया अस्पताल गुलरियाका मेडिकल अधिकृत डाक्टर चन्द्रप्रकाश तिमिल्सिनाले रक्तदान गर्नु भएको छ । ओपिडीमा बिरामी हेरिरहेका डाक्टर तिमिल्सिनाले बिरामीलाई रगत अभाव भएको थाहा पाएपछि रक्तदान गर्नु भएको हो ।
अस्पतालमा मिर्गौला रोगको डाइलाइसिस, सिकलसेल रोग, थालेसेमिया रोग, रक्तअल्पताको बिरामी संख्या बढेसँगै अस्पतालमा आउने बिरामीका लागि अभाव हुनेछ । अस्पतालमा बर्सेनि दुई हजार पिन्ट रगत खपत हुने गरेको छ । अस्पतालमा बिरामीको संख्या बढेअनुसार रगत दिने रक्तदाताको अभाव रहेको छ । कहिलेकाहीँ अस्पतालमा भर्ना बिरामीले रगत नपाएपछि नेपालगन्ज र कोहलपुरमा रहेको रक्तसञ्चार केन्द्रमा गएर रगत ल्याउने गरेका छन् ।

डाक्टर तिमिल्सिनाले बिरामीलाई बचाउने डाक्टरको पहिलो प्राथमिकतामा पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ उपचार गर्दागर्दै बिरामीलाई रगतको आवश्यकता पर्छ । त्यस्तो समयमा बिरामीलाई बचाउनुपर्छ भन्ने कुरालाई प्राथमिकता राखेर रक्तदान गर्ने गरेको छु ।’


