
कृष्णसार अनलाइन । बर्दियामा सर्वदलीय सर्वपक्षीय बैठक गरिएको छ । चाडपर्व, प्रतिनिधिसभा सदस्य निर्वाचन, आचारसंहितालगायतको विषयमा छलफल गर्न सर्वदलीय सर्वपक्षीय बैठक गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय सर्वपक्षीय बैठकमा राजनीतिक दलका नेताहरू, धार्मिक अगुवा, नागरिक समाजका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुखलगायतको सहभागिता रहेको थियो ।बैठकमा रङहरूको पर्व होलीलाई सदभावपूर्ण रूपमा मनाउन र निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सरोकारवाला निकायलाई जिम्मेवार बनाउन बैठकको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले यसपटकको निर्वाचन विशेष परिस्थितिले गर्दा हुने लागेको हुँदा यसलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन लाग्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘निर्वाचनको आचारसंहितालाई पूर्ण रूपमा पालना गर्न राजनीतिक र दलका उम्मेदवार आग्रह गर्दछु । आचारसंहिताबारे सबैजना जानकार भएको यसलाई पूर्ण रूपमा पालना गर्नुपर्छ भने आचारसंहिता उल्लंघन गर्ने कर्मचारी शिक्षकलाई विभागीय कारबाहीलाई सिफारिस हुन्छ ।’
जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालबहादुर मल्लले निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्ने दायित्व सबैको भएको हुँदा सबैजना मिलेर निर्वाचन गराउन लाग्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘निर्वाचनको पूर्वसन्ध्यामा होली पनि पर्ने भएको हुँदा होली मनाउँदा आचारसंहिता उल्लंघन नगर्न आग्रह गर्दछु ।’


