
प्रकाश पौडेल , गुलरिया । बर्दियामा निर्वाचन मतदाता शिक्षा तथा निर्वाचन प्रचारप्रसारका लागि सञ्चारकर्मीसँग अन्तरक्रिया तथा छलफल गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको निर्वाचन मतदाता शिक्षा तथा निर्वाचन प्रचारप्रसारमा लागि सञ्चारकर्मीसँग अन्तरक्रिया तथा छलफल गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत न्यायाधीश मनोज श्रेष्ठले निर्वाचन तयारी करिब करिब अन्तिम चरण रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ निर्वाचनमा खट्ने जनशक्ति व्यवस्था गरि खटाएको छ । निर्वाचनमा खट्ने जनशक्तिको विवरण आउँदा प्रष्ट नभएको हुँदा जनशक्ति व्यवस्था गर्दा केही समस्या भएको छ । त्यसको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयको तर्फबाट क्षमाप्रार्थी रहेको छु । यो सन्देश सञ्चार माध्यमबाट पुर्याइदिन अनुरोध गर्दछु ।’

प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले निर्वाचन तयारी र निर्वाचन भएका आचारसंहिता उल्लङ्घनको भएको विषयमा अहिलेसम्म कुनै लिखित गुनासो नआएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ निर्वाचन हुनु भन्दा ३ दिन अगाडि मौन अवधि रहन हुन्छ । मौन अवधीमा दलहरूले आचारसंहितालाई पूर्णरूपमा पालना गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।भने पत्रकारहरूले पनि आचारसंहिताको पूर्णरूपमा पालना गर्दै आउनु भएको छ । अझै पनि आचारसंहिता पालना गर्नु हुनेछ भन्ने लागेको छ ।’
निर्वाचनको सूचनालाई एकद्वार प्रणालीबाट दिने गरि सूचना अधिकारी व्यवस्थापन गरी र सूचना प्रदान गर्न प्राविधिकको प्रयोग गरिने निर्वाचन कार्यालयको प्रमुख लालबहादुर मल्लले बताउनु भयो ।
जिल्ला निर्वाचन कार्यालय बर्दियाको आयोजना र जिल्ला प्रशासन कार्यालयको संयोजनमा भएको अन्तरक्रिया एवम् छलफल कार्यक्रममा विभिन्न सञ्चार माध्यममा काम गर्ने पत्रकारहरूको सहभागिता रहेको छ ।


