
कृष्णसार अनलाइन । बर्दियामा विद्यालयको बसले किचेर सोही विद्यालयमा अध्ययनरत एक बालिकाको मृत्यु भएको छ। बढैयाताल गाउँपालिका– २ मा रहेको जेनिथ एकेडेमी एजुकेसनल स्कुलको बसले किच्दा सोही विद्यालयको नर्सरीमा पढ्ने चार वर्षीया मेबिना बोहोराको मृत्यु भएको हो।
पैदल यात्रा गरिरहेकी बालिकालाई भे १ क ११५२ नम्बरको बसले ठक्कर दिँदा टाउको र शरीरमा चोट लागेको थियो। बसको ठक्करबाट घाइते भएकी बालिकालाई उपचारको लागि बर्दिया अस्पताल लगिएकोमा अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख सन्दीप बेल्बासेले जानकारी दिनुभयो ।

विद्यालयका सञ्चालक गंगा बोहराले विद्यालयको नर्सरी कक्षामा पढ्ने बालिकाको दुर्घटनामा परेर मृत्यु भएको बताउनु भयो । विद्यालयको गाडी र गाडीको चालक प्रेमबहादुर सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


