
प्रकाश पौडेल, गुलरिया । बर्दिया अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आएपछि मिर्गौला रोगका बिरामीले राहत महसुस गरेका छन् । अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आएपछि नेपालगन्ज लगायत ठाउँमा डायलासिस गर्न जानुपर्ने बाध्यताको अन्त्य भएपछि मिर्गौला रोगका बिरामीले राहत महसुस गरेका हुन् ।
अस्पतालमा मिर्गौला रोग बिरामीको डायलासिस सेवा निःशुल्क छ । पछिल्लो समय मिर्गौला रोगका बिरामीको समस्या दिनानुदिन बढ्दै गएको पाइएको छ । राज्यले बिरामीको संख्याको आधारमा जनशक्ति र डायलासिस मेसिन पुर्याउन सकेको छैन ।

आफ्नो खानपान तथा रहनसहनमा ख्याल नगर्दा मिर्गौला रोगका बिरामीको संख्या बढ्दै गएको छ । विपन्न परिवारलाई आर्थिक अभाव गर्दा उपचार गर्दा पनि सम्पत्ति सकिएर अन्तिममा ज्यान जाने अवस्था देखिएको छ । संघीय सरकारले मिर्गौला रोगका बिरामीका लागि निःशुल्क डायलासिस सेवा उपलब्ध गराएको छ ।
ठाकुरबाबा नगरपालिका– २, बलातीकी समिना चौधरीले मिर्गौला रोग बिरामी बुबा बाबुराम थारूलाई डायलासिस गर्न मङ्गलबार र शुक्रबार अस्पताल ल्याउने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘विगत एक वर्षदेखि बुबाको डायलासिस भइरहेको छ । अस्पतालमा डाइलासिस सेवा सुरु भएपछि सहज भएको छ । तर, बुबालाई आवश्यक पर्ने औषधि बिमामा नपर्दा भने गाह्रो भएको छ । बुबाको डायलासिस गुलरियामा गर्दै आएको भए पनि कतिपय औषधि यहाँ नपाइने हुँदा औषधि किन्न नेपालगन्ज जानुपर्ने बाध्यता छ । घरदेखि नजिक स्वास्थ्य उपचार पाएपछि बुबा पनि खुसी हुनुहुन्छ । बुबालाई अस्पताल ल्याउन–लैजान सजिलो भएको छ ।’
बारबर्दिया नगरपालिका– १, जमुनाफाँटाका जनक थारूले श्रीमती गीता चौधरीलाई डायलासिस गर्न थालेको पनि एक वर्ष भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अस्पतालमा डायलासिस गर्न पाउँदा सहज भएको छ । घरदेखि आउजाउ गर्न सकिन्छ । तर, अस्पतालमा फिस्टुला बनाउने सेवा नभएको हुँदा नेपालगन्ज गएर डायलासिस गर्न फिस्टुला बनाएको र यहीँबाट डायलासिस गर्दै आएको छु । घरबाट नेपालगन्ज, कोहलपुर जाँदा टाढा हुन्थ्यो । बर्दिया अस्पतालमा डायलासिस सेवा पाइने भएको हुँदा बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ ।’
चालू आर्थिक ०८२र८३ मा तीन हजार ५२७ पटक, आर्थिक वर्ष ०८१र८२ मा दुई हजार १३ पटक र आर्थिक वर्ष ०८०र८१ मा २३१ पटक डायलासिस सेवा उपलब्ध गराएको अस्पतालका मेडिकल रेकर्डर केशव न्यौपाने बताउनु भयो ।
अस्पतालका मेडिकल अधिकृत डाक्टर भरत भण्डारीले मिर्गौला रोग प्रेसर, सुगर र चिकित्सकको सल्लाहबिना अनावश्यक दुखाइ कम गर्ने औषधि खाँदा र मद्यपान गर्दा विषादीयुक्त खाना र वंशानुगत कारणले मिर्गौला रोग लाग्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘समयमा खानपान र आनीबानी सुधार गर्ने, प्रेसर, सुगर रोगीले नियमित औषधि सेवन गर्ने र रोगलाई रोकथाम गर्ने गर्नुपर्छ भने स्वास्थ्यमा कुनै समस्या आएमा चिकित्सकको सल्लाह बमोजिम मात्र औषधि सेवन गर्नुपर्छ । यसो गर्न सकेमा मिर्गौला रोग लाग्नबाट बच्न सकिन्छ।’


