
प्रकाश पौडेल, गुलरिया । बर्दियामा सञ्चालन भइरहेको विकास निर्माणको काममा निर्माण कम्पनीले सूचनापाटी राख्ने गरेको पाइँदैन । सार्वजनिक खरिद नियमावलीमा विकास निर्माणको काम गर्दा अनिवार्य सूचनापाटी राख्नुपर्ने व्यवस्था भए पनि जिल्लामा सञ्चालित विकास निर्माणको काममा निर्माण कम्पनीले सूचनापाटी राख्ने गरेको पाइँदैन ।
विकास निर्माणको काम गर्दा अनिवार्य सूचनापाटी राख्नुपर्ने हुन्छ । तर, जिल्लाभित्र सञ्चालन भइरहेको भवन निर्माण, सडक निर्माण, खानेपानी ट्यांकी निर्माण, नहर निर्माण पुल र नाला निर्माणलगायत आयोजना स्थलमा सूचना पाटी राखेको पाइँदैन । सूचनापाटीविना काम सञ्चालन हुँदा कुन निकायबाट भइरहेको भन्नेबारेमा जानकारी पाउन मुस्किल परेको छ भने उपभोक्ताहरू सूचनाको अधिकारबाट वञ्चित भएका छन् ।

सार्वजनिक खरिद नियमावली २०६४ मा सार्वजनिक निकायले सार्वजनिक निर्माणको हकमा निर्माणस्थलमा सबैले देख्न र हेर्न सक्ने गरी सूचनापाटी बनाएर राख्नुपर्ने व्यवस्था गरेको छ । सूचनापाटीमा योजनाको नाम, योजनाको ठेगाना, ठेक्का नम्बर, निर्माण व्यवसायीको नाम, सम्झौता रकम, सम्झौता मिति र योजना सम्पन्न हुने मिति, योजना सञ्चालन गर्ने कार्यालयको नाम सबैले देख्ने र हेर्न सक्ने गरी नियम छ । तर, यसको कार्यान्वयन पक्ष निकै कमजोर रहेको छ ।
आयोजनास्थलमा भइरहेको कामको निगरानी गर्ने दायित्व सम्बन्धित कार्यालय प्रमुखको हो । सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन २०६४ मा कार्यालय प्रमुखले आफू बहाल रहेको कार्यालयअन्तर्गत सञ्चालित आयोजनाहरूको काम निश्चित समयभित्र सम्पन्न गर्न लगाउने व्यवस्था रहेको छ भने सुशासन ९व्यवस्थापन तथा सञ्चालन० नियमावली २०६५ मा कार्यालय प्रमुखले आफू बहाल रहेको कार्यालय वा मातहत निकाय वा आयोजनाबाट प्रचलित कानुन, नेपाल सरकारको निती कार्यक्रम वा निर्णयको विपरीत कुनै कार्य भइरहेको छ भन्ने कुनै स्रोतबाट जानकारी प्राप्त हुन आएमा वा निरीक्षणबाट सो कुरा देखिन आएमा त्यस्तो कार्य हुन सुधार गर्नुपर्ने दायित्व कार्यालय प्रमुखको हुन्छ ।
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले आयोजनास्थलमा सूचना अनिवार्य राख्नुपर्ने कानुनी व्यवस्था भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आयोजना स्थलमा सूचना पार्टी नराखिएको गुनासो आएपछि सूचना अधिकारीहरू बैठकमा अनिवार्य सूचना पार्टी राख्न लगाउनु भएको निर्देशन गरिएको छ । अझै पनि कुनै निकायले सूचनापाटीविना नै काम गरिरहेको भए जानकारी आएमा तत्काल त्यसलाई कडाइका साथ कार्यान्वयन गर्न लगाउनेछु ।


