
प्रकाश पौडेल, गुलरिया । बर्दियाको गेरुवा गाउँपालिका– ३ मा रहेको निर्माणाधीन कल्भर्ट निर्माणको काम करिब एक वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। चार महिनामा निर्माण गरिसक्नुपर्ने कल्भर्ट निर्माणको काम निर्माण कम्पनीको लापरबाहीले एक वर्षमा पनि बन्न सकेको छैन ।
गेरुवा गाउँपालिका– ३ को कार्यालयबाट चाइना टोल जाने बाटोमा पर्ने कल्भर्ट निर्माणको काम अहिलेसम्म हुन नसकेको गेरुवा गाउँपालिका– ३ का वडाध्यक्ष निर्मल चौधरीले बताउनु भयो । उहाँले वडा कार्यालयनजिक कुलोमा बन्न लागेको कल्भर्ट निर्माणको काम समयमा गराउन निर्माण कम्पनीलाई पटकपटक भनिएको जानकारी दिनुभयो । तर, यसपटक निर्माण कम्पनील छिट्टै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको उहाँको भनाइ रहेको छ ।

कल्भर्ट निर्माणको जिम्मा माँ लक्ष्मी निर्माण सेवा गेरुवा( ६ ले २५ चैत ०८१ मा पाएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले कल्भर्ट निर्माणको काम १० असार ०८२ मा सक्नुपर्ने थियो । तर, निर्माण कम्पनीले सम्झौताअनुसार समयमा काम नगरेपछि पालिकाले २९ माघ ०८२ सम्ममा काम सम्पन्न गर्नुपर्ने गरी म्याद थप गरिएको पालिकाका सूचना अधिकारी कुननारायण चौधरीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘निर्माण कम्पनीले अहिलेसम्म कुनै काम गरेको छैन । पालिकाले समयमा काम सम्पन्न गराउन पटक–पटक निर्माण कम्पनीलाई ताकेता गरेको छ।’
निर्माण कम्पनीले कल्भर्ट निर्माणको ठेक्का १४ लाख ४० हजार ७९७ रुपैयाँमा प्राप्त गरेको पालिकाले जनाएको छ।
सार्वजनिक खरिद नियमावली, २०७४ ले पूर्वनिर्धारित समयमा काम नगर्ने आपूर्तिकर्ता, परामर्शदाता, सेवा प्रदायक वा निर्माण व्यवसायीलाई जरिवाना र ठेक्का रद्द गर्न सक्ने व्यवस्थासमेत रहेको छ ।


