
प्रकाश पौडेल, गुलरिया । दिगो वन व्यवस्थापनका लागि सामुदायिक वनको रूख कटान भएसँगै बर्दियामा काठको अवैध ओसारपसार बढेको छ । डिभिजन वन कार्यालय बर्दियाले दिगो वन व्यवस्थापनका लागि सामुदायिक वनहरूलाई रूख कटानको आदेश दिएर रूख कटान भएसँगै काठको अवैध ओसारपसार बढेको हो ।
दिगो वन व्यवस्थापनका लागि डिभिजन वन कार्यालयको अनुमतिमा सामुदायिक वनको रुख कटान भएको छ । सामुदायिक वनमा रहेका साल, खयर, सिसौ लगायत जातका रूखहरू कटान भएपछि काठको अवैध कारोबार समेत बढेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले ०८२ चैत्र २४ गते राती साढे १२ बजे मधुवन नगरपालिका, ९ बाट सात फिट लम्बाइ भएको ३ थान गोलिया काठ ( २०.१४ क्युफिट ) काठ र रातो अटो पक्राउ गरिएको जानकारी दिए । प्रहरीले काठको साथमा दुईजनालाई पक्राउ गरेको छ ।
डिभिजन वन कार्यालय बर्दियाको पत्र सहित राजापुर नगरपालिकाबाट लैजाँदै गरेको चार सय ८२ थान खयर र ट्रक बाँके प्रहरीले ०८२ फागुन २३ जानकारी गाउँपालिका पक्राउ गरेको थियो । डिभिजन वन कार्यालय बर्दियाको पत्रमा दुई सय थान खयर लैजानको अनुमति दिएको भएपनि प्रहरीले चार सय ८२ थान खयर पक्राउ गरेको थियो । यसरी कार्यालयको कर्मचारीको मिलोमतोमा दुई सय ८२ थान खयर बर्दियाबाट बाँके पुगेको देखिन्छ ।
त्यसैगरी मधुवन नगरपालिका, ८ बाट प्रहरीले ०८२ मंसिर १५ गते दिउँसो ४ बजे प्रहरीले ९४ हजार रुपैयाँ बराबरको ३३ वटा गोलिया फेला परेको थियो । बढैयाताल गाउँपालिका ६ उच्चगाउँबाट ०८२ असार ८ गते राति साढे १० बजे प्रहरीले ६ लाख ५०० रुपैयाँ १२९.५७ क्युफिट सालको काठ र ट्याक्टर पक्राउ गरेको थियो ।
भने गुलरिया नगरपालिका, ३ मनकामना टोलबाट ०८२ जेठ २२ गते दिउँसो साढे २ बजे प्रहरीले ३ लाख ६५ हजार १६५ रुपैयाँ बराबरको ८१.०५ क्युफिट सालको काठ प्रहरीले फेला पारेको थियो । राजापुर नगरपालिका, ४ छेदियाबाट ०८१ फागुन २१ गते राती १ बजे प्रहरीले ५ लाख २१ हजार बराबरको १२ थान जंगली सिसौको गोलिया र अटो रिक्सा सहित एकजनालाई पक्राउ गरेको थियो ।
सामुदायिक वनहरुले सामुदायिक वन उपभोक्ता समितिलाई दिगो वन व्यवस्थापनका लागि भन्दै कार्ययोजना निर्माण र कार्ययोजनाको नवीकरण गराएर सामुदायिक वनका रूख कटानको काम भइरहेको छ ।यसरी सामुदायिक वनको रुख कटानको काम भएसँगै बर्दियामा साल खयर जस्ता काठको अवैध कारोबार समेत बढेको छ


