bardiyahospital

मकै पोलेर बेचिरहेकी निवर्तमान नगर उपप्रमुख शुबरानी अर्थात् कमरेड चेतना 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । मधुवन नगरपालिकाकी निवर्तमान नगर उपप्रमुख शुबरानी थारू  राज्य व्यवस्था परिवर्तनका लागि हिँडेकी योद्धा हुनुहुन्छ । देशभित्र भएको १० वर्षे युद्धमा शुभरानी थारूको योगदान महत्त्वपूर्ण छ ।

 तत्कालीन समयमा थारू समुदायका मानिसले छोरीलाई पढाउने कुरा चानचुने थिएन । तर,  शुबरानीले परिवारसँग पढ्न पाउनुपर्ने माग राखेर बढैयाताल गाउँपालिका रहेको विद्याज्योति माध्यमिक विद्यालयमा भर्ना भएर पढ्न थाल्नु भयो । ०५८ सालमा एसएलसीको  परीक्षा दिनुभयो । 

cld

तत्कालीन विद्रोही पार्टी माओवादीको सम्पर्कमा रहनु भएकी शुबरानी एसएलसीको परीक्षा दिएपछि पूर्णकालीन पार्टीको कार्यकर्ता बन्नुभयो  । त्यसपछि  शुबरानीलाई पार्टीले नयाँ नाम दियो कमरेड चेतना । 

आफू र आफूजस्ता भुइँमान्छेको जीवन माथि उठाउन विद्रोहको बाटो रोजेकी कमरेड चेतनालाई  ०५८ सालमा प्रहरीले पक्राउ गर्‍यो । त्यसपछि जिल्ला कारागार बर्दियामा करिब साढे एकवर्षे जेल जीवन बिताएकी चेतनाले कारागारभित्र चरम यातना भोग्नुपरेको  शुभरानी अर्थात् कमरेड चेतनाले बताउनु भयो  ।

उहाँले भन्नुभयो, ‘हिरासतभित्र बस्दा मलाई प्रहरीले चरम यातना दियो । त्यो सम्झँदा म कसरी बाँचेँ भन्ने अहिले पनि लाग्छ । मलाई यातना दिएको देखेर हिरासतभित्र रहेकी सुभद्रा रोक्काले प्रहरीसँग मलाई जोगाएकी हुन् । उनले मलाई जोगाउन कारागारभित्र प्रहरीसँग प्रतिवाद गरेकी थिइन् । अन्य कैदीबन्दीहरू मलाई यातना दिएको देखेर चुपचाप बसे । तर, सुभद्राले मेरा लागि प्रहरीसँग संघर्ष गरिन् । मैले सुभद्राको कारण गर्दा नयाँ जीवन पाएकी हुँ । मलाई कारागारबाट छोडिदिएपछि म फेरि पार्टीको काममा फर्किएँ । पार्टीभित्र रहँदा मैले सुभद्राको बारेमा खोजीनीति गरेँ, तर फेला पार्न सकिनँ । मैले धेरैजनासँग सुभद्रा रोक्काबारे सोधेँ, तर कहीँकतैबाट उनको बारेमा जानकारी पाउन सकेकी छैन् । उनले गर्दा म बाँचेँ ।’  

 कमरेड चेतनाको जिन्दगीमा धेरै उतारचढाव आयो । राज्य व्यवस्था परिवर्तन भयो ।  विगतको तुलनामा धेरै कुरा फेरियो । सबैभन्दा बढी मान्छेहरू अधिकारका लागि बोल्न सक्ने भए, सबैतिर महिला सहभागिता अनिवार्य भयो । 

पार्टीले ०७४ जेष्ठमा भएको स्थानीय तहको चुनावमा स्थानीय चुनावमा टिकट दियो ।  कमरेड चेतनाले स्थानीयको मत पाउनु भयो । मत दिए । नगरको उपप्रमुखको पदमा विजय हुनुभयो ।

उहाँले भन्नुभयो , ‘स्थानीयले मलाई मत दिएर मलाई विजय भएँ ।  मैले जनताले दिएको मतको कहीँकतै दुरुपयोग गरिनँ । मैले जानेर–बुझेर कहीँकतै पदमा हुँदा पदको दुरुपयोग गरेजस्तो लाग्दैन ।’ 

उपप्रमुखको जिम्मेवारी पूरा गरेर अहिले आफ्नो काम गर्दै आएकी शुभरानीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मेरो जिन्दगीमा जे–जति उतार–चढाव आयो त्यसमा सुभद्रा रोक्काको महत्त्वपूर्ण योगदान छ । उनीसँग एकपटक भेट्ने इच्छा छ । उनको बारेमा जान्ने–बुझ्ने इच्छा छ ।’ 

सरल जीवन जिउँदै आएकी कमरेड चेतना अहिले आफूले योगदान गरेको पार्टीभन्दा अलग हुनुहुन्छ । भूमिगतकालमा भोगेको चरम यातनादेखि जनताको घरमा बस्दा खाएको नुन–खुर्सानीका स्वाद अझै बिसिनु भएको छैन् । व्यवस्था परिवर्तनका लागि योगदान गरेका कमरेडहरूको योगदान पछिल्लो समय कम हुन थालेको उहाँको बुझाइ रहेको छ ।

भूमिगत हुँदा हामीले अनेक दुःखकष्टको पछिल्लो समय कदर हुन छाड्यो । नयाँ कमरेडहरूले पुरानालाई अवहेलना गर्न थाले । त्यही भएर मैले फरक बाटो रोजेँ । म हिजो पनि भुइँमान्छेका लागि लडेँ । आज पनि भुइँमान्छेको आवाज बोल्ने छु । भोलि पनि बोलिरहनेछु,’ उहाँले भन्नुभयो, ‘हामी धेरैजनाले यो व्यवस्था परिवर्तनका लागि योगदान गरेका छौँ । तर, पछिल्लो सयम पार्टीभित्र नयाँ मान्छे आएसँगै पुरानो योगदान हुन छाडेको छ । भूमिगत कालमा  पार्टीमा लागेर धेरै कमरेडहरूले ज्यान गुमाएको, घाइते भएको र चरम यातना भोगेको देखेकी छु ।’ 

मलाई जनता दिएको पाँच वर्षको अभिमत सकिएपछि म घर फर्किएँ । परिवारसँग मिलेर खेती किसानको काम सुरु गरेँ । उनले भनिन्, ‘विगत चार वर्षदेखि कृषि कर्म नै मेरो जीवनयापन गर्ने काम बनेको छ । मेरो घरमा १० वटा गाईभैँसी छन् । परिवार मिलेर काम गर्ने गरेका छौँ । त्यसबाट आएको आम्दानीले जीवनयापन भइरहेको छ ।’

परिवारको नाममा १० कट्ठा जग्गा छ । थप १५ कट्ठा जग्गा भाडामा लिएर मकैखेती गरेको निवर्तमान नगर उपप्रमुख चौधरीले बताउनु भयो  । उहाँले भन्नुभयो, ‘गत वर्ष बारीबाट मकै बेचेँ । व्यापारीहरूले रोजेर राम्रा–राम्रा मकै मात्र लैजाने रहेछन् । त्यही भएर अहिले बारीबाट मकै बेचेको छैन ।बारीका उत्पादन भएका मकै ल्याएर पोलेर बेचिरहेकी छु । म भुइँमान्छे हुँ । मलाई मेरो धरातल राम्रोसँग थाहा छ । पद भने निश्चित अवधिका लागि हुन्छ । पदमा रहँदा पदको जिम्मेवारी सम्हालेँ । अहिले मकै पोलेर बेचिरहेकी छु । मैले काम गरेर खाएकी छु । कसैलाई ठगेर खाएको छैन ।’

कमरेड चेतनाको जीवनमा धेरै उतारचढाव आए पनि चेतनाको सोचेमा आएको परिवर्तन चानचुने परिवर्तन होइन । उहाँले आफ्नो धरातल बिसिनु भएको छैन् । उहाँ अझै भुइँमान्छेको अधिकारका लागि बोल्नु हुन्छ । हेर्ने आँखाहरू फरक हुन सक्छ ।  कमरेड चेतनाको चेतनाले ठगिखाने होइन, गरी खानुपर्छ भन्ने सन्देश दिनु भएको छ । 

निवर्तमान नगर उपप्रमुख अहिले पनि राजनीतिमा सक्रिय हुनुहुन्छ  । आफ्ना कामसँगै भुइँमान्छेको साथमा हिँडिरहनु भएको छ । । शुभरानी हिजो नगरको उपउप्रमख थिइन् । आज नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुनुहुन्छ । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.