
प्रकाश पौडेल, गुलरिया । सडकको बीचमा रहेको बिजुलीको पोल समयमा स्थानान्तरण नहुँदा गेरुवा गाउँपालिका बन्ने लागेको कालोपत्रे सडक निर्माणको काम प्रभावित भएको छ । सडकको बीचमा रहेको बिजुलीको पोल समयमा स्थानान्तरण नहुँदा गेरुवा गाउँपालिका, ४ सतमोहरीको बन्न कालोपत्रे सडक निर्माणको काम प्रभावित भएको हो ।
गेरुवा गाउँपालिका, ४ सतमोहरीमा रहेको बिजुलीको पोल समयमा स्थानान्तरण नहुँदै सतमोहरीदेखि बुढीकुलो करिडोर हुँदै खोल्टीबजार जाने सडक कालोपत्रे हुँदैछ । सो सडक तुल्सीरडि।जेरराउचुली निर्माण कम्पनीले ३ करोड, ११ लाख १० हजार ८५३ रुपैयाँमा ठेक्कामा लिएर बनाउन लागेको हो ।

एक किलोमिटर ८ सय मिटर सडक कालोपत्रे भइसकेको तथा सडकको बीचमा रहेको पोल स्थानान्तरण नहुँदा सतमोहरीको थोरै भागमा मात्र सडक कालोपत्रे हुन बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ ।
ठेक्का भइ सकेपछि सडकको बीचमा पर्ने बिजुलीको पोल स्थानान्तरण गर्न सुरुमा निर्माण कम्पनीले र पालिका दुवैले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रसँग पोल स्थानान्तरणको लागि काम गरेको देखिदैन । तर सडक कालोपत्रे गर्ने बेला पोल स्थानान्तरणको लागि निर्माण कम्पनी र पालिकाको सक्रियता बढेको छ ।
गेरुवा गाउँपालिकाका कार्यालय प्रमुख बस बहादुर रानाले बिजुलीको पोल स्थानान्तरण गर्नका लागि आवश्यक पर्ने कानुनी प्रकृया मिलाउन वडा अध्यक्ष सहकार्य गरेको जानकारी बताउनु भयो । उहाँले भन्नुभयो, ‘ बिजुलीको पोल स्थानान्तरण गर्नका लागि ठेक्का गर्दा नै बजेट छुट्टाएको छ । सोही अनुसार निर्माण कम्पनीले पोल स्थानान्तरण गर्दा लाग्ने राजस्व तिर्ने गरी प्रकृया अगाडि बढाएको छु ।’
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजापुरका प्रमुख युवराज रावतले केही समयमा पहिला गेरुवा गाउँपालिकाका कार्यालय प्रमुख आएर बिजुलीको पोल सार्ने विषयमा कुराकानी गर्न लागि पत्र सहित आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ मैले कार्यालय प्रमुखलाई बिजुलीको पोल सार्नका लागि विद्युतीय संरचना स्थानान्तरण कार्यविधि २०७५ रहेको , त्यहीँ कार्यविधिका अनुसार बिजुलीको पोल सार्न सकिने विषयमा जानकारी दिएको छु ।र सोही अनुसार आवश्यक पर्ने कागजात ल्याउन पनि भनेको छु ।’
पालिकाले बिजुलीको पोल सार्नका लागि आवश्यक पर्ने कागजात र बिजुली पोल स्थानान्तरण गर्दा लाग्ने रकम बुझाएमा बढीमा एक हप्ताभित्रमा बिजुलीको पोल स्थानान्तरण गर्न सकिने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजापुरका प्रमुख रावतले जानकारी दिनुभयो ।


