bardiyahospital

दुना- टपरी उद्योगले फेरियो देवीको जिन्दगी

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया ।  उमेरले छ दशक पार गर्न लाग्यो । काम गर्ने जोस जाँगर युवाको भन्दा कम छैन। बिहानको नित्यकर्म सकेपछि उद्योगमा जाने । उद्योगमा रहेको मेसिनको सरसफाइ गर्ने, त्यसपछि मेसिन चलाउने। मेसिन तातो भएपछि सालको पातलाई मेसिनमा राखेर धमाधम दुना टपरी बनाउने काममा ठाकुरबाबा नगरपालिका १, कञ्चनपुरकी ६० वर्षीया देवी बिक व्यस्त हुनुहुन्छ । बिकले यसरी सालको पातबाट दुना टपरी बनाउन थालेको चार वर्ष हुन थाल्यो। 

बिकले गरेको मेहनत र आत्मविश्वास देख्दा एकछिन हरकोही छक्क पर्छ। दुना टपरी बनाउने काममा बिक घण्टौँसम्म खट्न सक्नुहुन्छ। आफू बाहेक दुना टपरी उद्योगमा अहिले तीन जनाले काम गर्दै आएको बिकले बताउनु भयो। उहाँले भन्नुभयो, ‘दुना टपरी बनाउन मेसिन भएर मात्र पुग्दैन । त्यसको लागि  सालको पात चाहिन्छ। पात वनमा सजिलोसँग पाइन्छ। आफूले सबै काम गर्न सकिदैन। त्यहीँ भएर उद्योगको लागि आवश्यक पर्ने सालको पात ल्याउने काममा गाउँका ४० जना दिदीबहिनीले गर्दै आउनु भएको छ। वनमा त्यसै खेर गइरहेको सालको पातको सदुपयोग भइरहेको छ । भने काम गर्ने जति सबैलाई थोरै भएपनि आम्दानी पनि भएको छ।’

cld

 बिकले धेरै वर्ष संघरसंस्थामा काम गर्नुभयो। प्रोजेक्ट आउँदा काम हुन्थ्यो, नभए त्यसै बस्नु पद्थ्यो । त्यहीँ भएर थोरै लगानीमा भएपनि उद्योग खोल्ने योजना बनाउनु भयो । परिवारसँग सरसल्लाह गर्नुभयो। अनि परिवारको सल्लाहमा २०८० सालमा लक्ष्मी दुना टपरी उद्योग स्थापना गर्नुभयो। सुरुमा उद्योग सञ्चालनमा आएपछि बजारीकरणको लागि समस्या भएको भएयता पनि अहिले उद्योग नियमित रूपमा चलिरहेको छ। लक्ष्मी दुना टपरी उद्योगमा दैनिक ६ हजार दुना टपरी उत्पादन भइरहेको छ । 

उद्योग स्थापना गरेको सुरुको केही महिना दुना टपरी बिक्री गर्नका लागि केही समस्या भएको भएयता पनि अहिले सहज रुपमा दुना टपरी बिक्री हुने गरेको बिकले जानकारी दिनुभयो। उहाँले भन्नुभयो ,‘सुरुमा केही समय असहजता भयो। दुना टपरीको नमुना लिएर प्रचारप्रसार गर्न विभिन्न ठाउँमा गए। धेरै व्यापारीले अर्डर गर्न थाल्नु भयो। अहिले दुना टपरी बेच्न कुनै समस्या छैन् । दुना टपरीको माग बढ्दै गइरहेको छ, तर मैले पुर्‍याउनु सकेको छै ।’

उद्योगमा उत्पादन भएका दुना टपरी अहिले बाँकेको नेपालगञ्ज, कोहलपुर,धनगढी सुर्खेत लगायतको जिल्लामा जाने गरेको छ भने उद्योग स्थापना हुँदा बिकलाई ठाकुरबाबा नगरपालिकाले पनि सहयोग गरेको थियो। 

प्लास्टिकबाट बनेका थाल, प्लेट, चम्चा, गिलास, कचौरा यस्ता प्लास्टिकजन्य सामानको प्रयोगलाई निरुत्साहित र कम गर्न आवश्यक रहेको छ। त्यसका लागि सरकारले पनि विशेष कार्यक्रम ल्याएर दुना टपरी उद्योगलाई प्रोत्साहित गर्न आवश्यक रहेको छ। यस्ता उद्योग धेरैभन्दा धेरै सञ्चालनमा आएपछि भारतबाट आयात हुने प्लास्टिकजन्य वस्तु आयातलाई रोक्न सकिन्छ। वर्षेनी हुने व्यापार घाटालाई कम गर्न पनि मद्दत पुग्छ ।

‘स्थानीय तहले कम्तिमा पनि स्थानीय स्तरमा उत्पादन हुने वस्तुको प्रयोगलाई प्रोत्साहित गर्न भारतबाट आयात हुने प्लास्टिकको प्लेट कचौरा थाल प्रयोगलाई निरुत्साहित गर्न प्लास्टिकजन्य वस्तु आयातमा रोक लगाउनु पर्छ ।’ उहाँले भन्नुभयो, ‘यति गर्न सके स्थानीय स्तरमा चलेको उद्योगले पूर्ण रुपमा सञ्चालन गर्न सकिन्छ । भने गाउँघरमा रहेको साना उद्योगमा पनि रोजगारीको अवसर सृजना गर्न सकिन्छ ।’

 जीविकोपार्जन अभिवृद्धिका लागि उद्यम प्रवर्द्धन कार्यक्रमअन्तर्गत सालको पातलाई प्रशोधन गरी अत्याधुनिक स्वचालित मेशिनबाट दुना, टपरीहरु उत्पादन गर्नका लागी ६ लाख ,४० हजार सहयोग गरेको बी ग्रुपका  कृषि तथा उद्यम विकास संयोजक  पप्पु यादवले बताउनु भयो । उहाँले भन्नुभयो , ‘दुना टपरी बनाउने मेसिन खरिद, क्षमता विकास तालिम,ब्राण्डिङ,प्याकेजिङ, प्रचार प्रसार तथा बजारीकरण गर्न र पात सुकाउने मेसिन खरिद गर्नका लागि परियोजनाले सहयोग गरेको हो।’ 

दुना टपरी उद्योग जैविक विविधताको हिसाबले महत्वपूर्ण छ । दुना टपरी बनाउन सालको पात र बासको सिन्का प्रयोग हुन्छ । एकतिर स्थानीय स्तरमा पाइने कच्चापदार्थको प्रयोग हुने र अर्कोतिर वनमा खेर जाने सालको पातलाई सही रूपमा प्रयोग गर्न सके स्थानीय स्तरमा रोजगारी सृजना हुने हुँदा यो महत्त्वपूर्ण रहेको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका सम्वर्धन परियोजनाका पैरवी अधिकृत  जयन जोशीले बताउनु भयो । 

वनमा खेर गएको सालको पातलाई यसरी प्रयोग गर्दा वनमा हुने आगलागी नियन्त्रण गर्न सकिन्छ । दुना टपरी सजिलोसँग कुहिने  हुँदा वातावरण प्रदुषण कम  हुन्छ । वातावरण स्वच्छ र सफा राख्न  दुना टपरी उद्योगको भूमिका महत्वपूर्ण रहेको छ भने उद्योग सञ्चालनमा आएपछि बिकको जिन्दगी पनि फेरिएको छ । बिकलाई पहिला जस्तो घर खर्च चलाउन परिवारमा निर्भर हुन परेको छैन । बिक अहिले उद्यमी र उद्योगपति हुनु भएको छ । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.