
प्रकाश पौडेल, गुलरिया । बर्दियाको राजापुरमा भत्किएको सडक मर्मतका लागि सरोकारवाला निकायले चासो नदेखाएपछि स्थानीयहरू सडक मर्मतको काममा जुटेका छन्। राजापुर नगरपालिका, ३ मा पर्ने भत्किएको सडक मर्मतका लागि सरोकारवाला निकायले चासो नदेखाएपछि स्थानीयहरू सडक मर्मतको काममा जुटेका हुन्।
राजापुर गेरुवा सडक खण्डको विभिन्न ठाउँमा सडक भत्किएको छ। सडक भत्किएको करिब दुई वर्ष हुँदा पनि सडक मर्मतको लागि कसैले चासो देखाएको छैनन् भने भत्किएको सडकबाट आवतजावत गर्दा सडक दुर्घटनाको जोखिमसमेत बढेको छ। भत्किएको सडक मर्मतका लागि कसैले चासो नदेखाएपछि स्थानीयहरू आफैँ सडक मर्मतको काममा जुटेका हुन्।

राजापुर नगरपालिका – ३, टेडियाका संगम दहितले सडक रहेको खाल्डोको कारण एकजना स्थानीयको मृत्यु भएपछि थप दुर्घटना नहोस् भनेर सडकको खाल्डाखुल्डी मर्मत गर्न लागिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘स्थानीयहरूले आर्थिक सहयोग उठाएर सडक मर्मतको काम गरिरहेका छौँ। स्थानीय सरकारले आजसम्म भत्किएको सडक मर्मत नगरेपछि स्थानीय सडक मर्मतका लागि जुटेको हो।’
गाउँका बडघरहरूसँग सहकार्य गरेर भत्किएको सडकआसपासका स्थानीयले श्रमदान गरेको दहितले जानकारी दिए । अहिलेसम्म करिब तीन किलोमिटर सडक मर्मत भएको छ।


