
प्रकाश पौडेल, गुलरिया । बर्दियाको गुलरिया नगरपालिकाबाट सरुवा भएर गएका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले पालिकाको बजेटबाट खरिद गरेको मोबाइल चार वर्ष बितिसक्दा पनि बुझाएका छैनन्। पालिकाबाट सरुवा भएर गएका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले पालिकाको बजेटबाट खरिद गरेको मोबाइल चार वर्ष बितिसक्दा पनि बुझाएका छैनन्।
देवकोटा पालिकामा सरुवा भएर १६ माघ २०७७ मा आएका थिए। पालिकामा आएको केही समयपछि देवकोटाका लागि एक लाख ३५ हजार रुपैयाँमा वान प्लस टेन प्रो मोबाइल खरिद गरिएको थियो। सो मोबाइल देवकोटाले चलाउँदै आएका थिए। देवकोटा ३१ भदौ २०७९ मा पालिकाबाट सरुवा भएर अन्यत्र जानु भयो । सरुवा भएर जाँदा देवकोटाले सो मोबाइल आफूसँग लिएर जानु भएको थियो ।

महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष ०८०/८१ को लेखा परीक्षण प्रतिवेदनले कार्यालयको जिन्सी अभिलेखअनुसार सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाको जिम्मामा रहेको मोबाइल एक लाख ३५ हजार रुपैयाँको कार्यालयमा फिर्ता गरी जानुपर्नेमा फिर्ता गरेको हुँदा स्पेसिफिकेसन बमोजिमको सामान प्राप्त हुनुपर्ने वा अन्यथा सोही रकम असुलउपर गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ।
गुलरिया नगरपालिकाका सहायक प्रशासकीय अधिकृत कपिल घिमिरेले महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन सार्वजनिक गरे लगत्तै मोबाइल फिर्ता गराउनका लागि कार्यालय पत्राचार गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवकोटा सरले केही दिनमा भित्रमा आएर मोबाइल बुझाउने जानकारी दिनुभएको छ।’
महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष ०८०/८१ को लेखा परीक्षण प्रतिवेदन २०८२ वैशाख ३१ गते सार्वजनिक गरेको थियो। प्रतिवेदन सार्वजनिक भएको पनि एक वर्ष बितिसक्दा समेत देवकोटाले मोबाइल बुझाउनु भएको छैन् । पालिकाबाट तत्कालीन प्रशासकीय अधिकृत देवकोटा सरुवा भएर गएको पनि तीन वर्ष ८ महिना भएको छ। पालिका रहँदा र सरुवा भएर गरेको अवधि जोड्दा देवकोटाले करिब ६ वर्ष वान प्लस टेन प्रो मोबाइल चलाउनु भएको छ ।
केही समयअगाडि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका देवकोटाको सरुवा २८ पुस २०८२ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत सरुवा भएको छ।


